१ फागुन
आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । वर्तमान प्रधानन्यायाधीशले निष्पक्ष रुपमा न्यायनिरुपण गर्न नसकेको, लामो समयदेखि स्वतन्त्र न्यायालयमा गतिवरोध सृजना गरेको, संविधान र लोकतान्त्रिक मूल्यमान्यता अनुसार कार्य सञ्चालन गर्न नसकेको, पदीय कर्तव्यपालना नगरेको र न्यायालयको आचारसंहिताको उल्लङघन गरेको भन्दै सत्तारुढ दलका सांसदहरुले  जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दार्ता गरेको हो ।

नेपालको संविधानको धारा १०१ को उपधारा २ तथा महाअभियोग (कार्यविधि नियमित गर्ने) ऐन, २०५९ को दफा ३ को उपदफा १ र २ बमोजिम प्रस्ताव दर्ता भएको हो । साथै प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रस्ताव दर्ता भएको सत्तारुढ दलका सांसदहरुले बताएका छन् । महाअभियोग प्रस्तावको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा.पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ, समर्थकमा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालसहित ९८ सांसद रहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएको छ । सत्तारूढ दलका सांसदहरूले आज संसद सचिवालयमा प्रस्ताव दर्ता गराएपछि कार्की स्वत कायममुकायम प्रधानन्यायाधीश भएको हो ।

Facebook Comments