पौष १२, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका भित्रका ९१ वटा आधारभुत विद्यालयका शिक्षकहरुलाई सुस्त श्रवण सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ । सुस्त श्रवण तथा वहिरा विद्यार्थीहरुको पहिचान गरि उनीहरुलाई कसरी पढाउने, उनीहरुको सिकाई क्षेत्रको विकास गर्नका लागि शिक्षकहरु भुमिका कस्तो हुन्छ भन्ने बारे जानकारी दिने उद्देश्यले डिडिपिको समन्वयमा श्रुति संस्थाले तालिमको आयोजना गरेको हो ।

तालिममा श्रुति संस्थाको गतिविधीको बारेमा श्रुतिका प्रमुख निता केशरी भटराईले जानकारी गराउनु भएको थियो । त्यस्तैगरी तालिममा सुस्त श्रवण भनेको के हो ?, त्यस्ता व्यक्तिहरुको पहिचान कसरी गर्ने ? सुस्त श्रवण र वहिरा विचको भिन्नता, सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई कस्तो व्यवहार गर्नुपर्छ, सुस्त श्रवणका कारण उत्पन्न हुने समस्याहरु के हुन र यसलाई कसरी न्युनिकरण गर्ने सकिन्छ भन्ने कुराको जानकारी गराइएको थियो ।

तालिमको सहजिकरण डा. सरस्वती भारतीले गर्नु भएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी माधव प्रसाद शर्माले तालिम एकदमै प्रभावकारी भएको बताउनु भयो । यो तालिम नेपाल सरकारको आफ्नै कार्यक्रम हुनुपर्ने र यस श्रुति संस्थाले सहयोग गर्दै आएको बताउदै उहाँले सुस्त श्रवण भएका विद्यर्थाीहरु यदि कुनै विद्यालयमा भए त्यस्ता विद्यार्थीहरु उचित शिक्षाको लागि आफुले सदैव सहयोग गर्ने बताउनु भयो ।

त्यसैगरी तालिममा सहभागि शिक्षकहरुले तालिमबाट आफुहरुले धेरै कुरा सिकेको बताउदै आफ्नो व्यवहरमा पनि ती कुराहरु लागु गर्ने बताए थिए । पहिले आफुहरुले सुस्त श्रवण भएका विद्यार्थीहरुको बेवस्ता गर्ने गरेको र तालिम पश्चात त्यस्ता व्यक्तिहरुको पहिचान गरेर उचित शिक्षाको बातावरण समेत सुजर्ना गर्ने उनीहरु बताएका छन् ।

Facebook Comments