पृथ्वीराजमार्ग ६ घन्टापछि खुलेको छ । यातायात व्यवसायी र स्थानीयबीचको छलफलपछि अवरुद्ध सडक ६ घन्टापछि खुलेको हो ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । पीडितलाई उचित क्षतिपुर्ती दिने र चालकलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग खुलाइएको हो । बिहिवार बिहान करिब पौने १० बजे काठमाडौबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय ६ वर्षीय विजय परियार घटनास्थलमै मृत्यु भएको थियो ।

गजुरीकै आदर्श माविको कक्षा एक मा अध्ययनरत परियारलाई बिद्यालय जाने क्रममा बसले ठक्कर दिएको थियो । घटनापछि स्थानीयले ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारीहरु गन्तव्यतर्फ गुड्न थालेका छन् ।

आक्रोसित भीडले सडकमा नाराबाजी गरेका थिए । घटनास्थलमा थप भीड बड्न नदिन प्रहरीले काठमाडौ तर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको थियो । सयौं सवारी जाममा परेका थिए ।

Facebook Comments