
गत वर्ष उपविजेतामा चित्त बुझाउन परेको त्रिपुरासुन्दरीले यो वर्ष धादिङ क्रिकेट लिगको उपाधि जित्न सफल भएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित चन्द्रोदय माविको खेलमैदानमा सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुनीबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जित्न सफल भएको हो ।
टस जितेर ब्याटिङ रोजेको धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोडेको थियो । ११३ चुनौतीपूर्ण लक्ष्य पछ्याएको त्रिपुरासुन्दरी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो । खेलको म्यान अफ द म्याच अमृत थापा हुनुभएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर समेत अमृत थापा हुनुभयो भने उत्कृष्ट ब्यटर कौशल रुपाखेती बन्नुभएको छ । यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनीबेसीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै खेल समापनको अवसरमा जिल्ला क्रिकेट संघ धादिङले गण्डकी प्रदेशको पोखरमा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा पदक विजेता १३ जना खेलाडीहरुलाई सम्मान पनि गरेको छ । धादिङ घर भई विभागिय र प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई पदक जित्ने खेलाडीहरुलाई जनही ५/५ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको गरेको हो ।