२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एकदिवसीय विश्व कप क्रिकेट छनोट पहिलो दिन नेपालले जिम्बाब्वेसँग खेल्दै

एकदिवसीय विश्व कप क्रिकेट छनोट पहिलो दिन नेपालले जिम्बाब्वेसँग खेल्दै

आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले आज घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेमा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न लागेको हो ।

जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय १६ रनले पराजित भएको छ । नेपालले जिम्बाब्वेसँग सन् २०१८ मा खेलेको थियो । विश्व कप छनोटअघिका खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो नतिजा निकालेको छ ।

नेपालले विश्व कप छनोटमा स्थान बनाउन आईसीसी विश्व कप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेल जितेको थियो । नेपालले पछिल्ला १७ मध्य १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित निकालेको छ ।

यस्तै, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का पनि गरिसकेको छ । सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेदेखि नेपालले ५१ वटा एकदिवसीय खेल खेलेकोमा २८ वटा खेलहरू जितेको छ, २१ वटामा हार बेहोरेको छ, एक बराबरी भएको छ र एक खेल वर्षाको कारण रद्द भएको छ ।

आजदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।- Ujyaalo Online

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।