२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धुनीबेसी र ककनीका स्थानीयले फोहर लिएर गएका गाडी बीच बाटोमै रोके

धुनीबेसी र  ककनीका स्थानीयले फोहर लिएर गएका गाडी बीच बाटोमै रोके

फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाण्डौको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् ।

ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका गाउँपालिकाका सूचना अधिकारी सुनिल आचार्यले जानकारी दिनुभयो । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ ।

बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा तथा सिसडोल नुवाकोटमा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै आजदेखि फोहर फाल्न रोकेका हुन् ।

बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

गएको जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ ।

केही दिनअघि मात्रै ककनी गाउँपालिकाले फोहर बोकेर बञ्चरेडाँडा जाने हरेक ठूला ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने र साना ट्रकको एक हजार रुपैयाँ लिने निर्णय गरेको थियो । अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीय बासिन्दाको स्वास्थ्य महत्त्वपूर्ण भएकाले फोहर फाल्न रोकेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताउनुभयो । अहिले शनिवारबाहेक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा पुग्ने गरेको छ ।

शनिवार भने एक सय ५० वटासम्म ट्रक फोहर बोकेर बञ्चरेडाँडा पुग्ने गरेका छन् । काठमाण्डौ महानगरले विगतमा भएको सम्झौतालाई कार्यान्वयन गर्दै गएको जनाएको छ । महानगरअन्तर्गत वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार अहिले अवरोध गरे पनि स्थानीय बासिन्दाका धेरैजसो माग पूरा भएका बताउनुभएको छ ।

केही मागहरुलाई क्रमशः कार्यान्वयन गर्ने उहाँको भनाइ छ । महानगरका सहप्रवक्ता दिपक अधिकारीका अनुसार स्थानीय बासिन्दाको मागअनुसार त्यस क्षेत्रको वातावरणीय अध्ययनको काम पनि शुरु भएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।