धादिङको नीलकण्ठ नगरपालिका–१ धुसेनीमा आयोजित प्रथम वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगितामा विवाद उत्पन्न भएको छ ।
पुष ८ गतेदेखि पुष १५ गतेसम्म आयोजना गरिएको प्रतियोगिताको सेमिफाइनल खेलमा नियम विपरित खेलाडी प्रवेश गराएको विषयले आयोजक टिम अन्नपुर्ण युवा समाज विवादमा तानिएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका– १३ को मधुवन युवा समाज र नुवाकोट तारकेश्वरको प्रगतिशिल युवा समाजबीच भएको सेमिफाइनल खेलमा प्रगतिशिल युवा समाजले नियम विपरित २ जना अनितिरक्त खेलाडी प्रवेश गराएको पुष्टि गर्दै मधुवन युवा समाजले विरोध जनाएको थियो । केहीबेरपछि आयोजकले नियम विपरित खेलाडी प्रवेश गराएको पुष्टिसहित प्रगतिशिल युवा समाजको टिम खेलबाट बाहिरिएको उद्घोष गर्दै मधुवन युवा समाज फाइनलमा प्रवेश गरेको घोषणा गरेको थियो ।

फाइनल खेलका लागि तयार भएर ग्राउण्ड प्रवेश गरिसकेपछि आयोजकले अघिल्लो दिनको निर्णय गलत भएको र जिल्ला फुटबल संघ र एन्फाका रेफ्रीहरुसँग सल्लाह लिदा दुबै टिमलाई खेल नखेलाउने निर्णय भएको सुनाएर खेलाडीहरुलाई अपमानजन ढंगबाट ग्राउण्डबाट बाहिर निकालेको मधुवनका खेलाडीहरुले बताएका छन् । दुबै टिमका प्रतिनिधि, आयोजक र रेफ्री सहित बसेर छलफल गर्दा प्रगतिशिलका खेलाडीहरुले पनि आफुहरुले नियम भन्दा विपरित खेलाडी खेलाएर गल्ती गरेको स्वीकार गरेपनि आयोजकले मनोमानी ढंगबाट निर्णय गरेको मधुवनका खेलाडी सन्तोष सारु मगरले बताउनुभयो ।

मधुवनका टिम क्याप्टेन सर्जु गुरुङले भन्नुभयो–‘तोकिएकै समयमा आधिकारिक पत्र बुझाएर फाइनल खेल्न ग्राउण्ड प्रवेश गरेपछि पत्र नै नक्कली हो भन्दै अपमानजन व्यवहार गरेर हामी निस्पक्षसँग खेल खेलेका खेलाडीहरुलाई ग्राउण्डबाट बाहिर निकालियो । फाइनल खेलमा प्रतिष्पर्धा गरेको दुबै टिमलाई आउट गराएर फाइनल प्रवेश गरिसकेको नीलकण्ठ–४ मानेको जनआवाज युवा समाजलाई स्वत: प्रथम बनेको घोषणा गरिएको छ । खेल हामीले जित्नुपर्छ, हामी नै जित्छौं भन्ने हाम्रो कुरा होइन, नियममा रहेर स्वच्छ प्रतिपर्धा हुनुपर्छ । एउटा टिमले गरेको गल्तीले हामीलाई असर हुने आयोजकको निर्णय स्वीकार्य छैन, निर्णय सच्याउन हामीले माग गरिरहेका छौं ।’

फुटबल नियमअनुसार नियम विपरित खेलाडी प्रवेश गराएको टिम खेलबाट स्वत: बाहिरिने र अर्काे टिमले ३ अंक अर्थात तीन गोल पाउने व्यवस्था छ । विवादकैबीच ५० हजार रासीको प्रतियोगिताको पुरस्कार भने आयोजक टिमले जनआवाज युवा समाजलाई प्रदान गरिसकेको छ । यस विषयमा प्रतिकृया लिन आयोजकलाई फोन गर्दा सोमबार साँझ (आठ बजे)यो समाचार तयार पार्ने समयसम्म फोन उठेन ।

Facebook Comments