फागुन २९, धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिकाको वडा नं ३ स्थित मझुवाटारमा दुई बर्ष अघिदेखि निमार्ण सुरु गरिएको झोलुङ्गे पुल अझै बन्न सकेको छैन ।
मझुवाटार र पृथ्वी राजमार्गलाई जोड्ने उक्त पुल ठेकेदारको लापरवाहिका कारण समय मै निर्माण नभएको स्थानीयहरुले बताएका छन् । पुल निर्माण गर्न भनि ल्याइएका सामाग्रीहरु राजमार्गको सडक छेउमै खिया लागेर अलपत्र अवस्थामा रहेको सहकर्मी विकेक अर्यालले जानकारी दिनुभएको छ । पुलको काम अलपत्र परेको वर्षौ बितिसक्दाँ पनि पुल निमार्णका लागि कुनै निकायले केही पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
१ सय ४० मिटर लम्वाईको उक्त झोलुङ्गे पुल २०७४ सालको गत असारमा नै निमार्ण सम्पन्न गर्ने गरी रुविना कन्ट्रक्सन र मनाजेरी कन्ट्रक्सनले ६० लाख रुपैँयामा ठेक्का दिइएको थियो । यो वर्षको असार महिना सकिएर अर्को असार आउन लाइसक्यो तर पुल निर्माणको कामले भने निरन्तरता पाउन नसकेको स्थानीय वावुराम सेढाईले वताउनु भयो । पुल बन्ने भएपछि तुइनको जोखिमपूर्ण यात्राबाट छुट्कारा पाउने आशमा बसेका स्थानीयहरु अहिले निराश बनेका छन् । विक्रमसम्वत २०३६ सालमा बनेको मझुवाटार र बेनिघाट बजार जोड्ने तुइनको डण्डीहरु खीया लागेको छ भने डोरीहरु पनि पुरानो भएर नाजुक अवस्थामा पुगिसकेको छ ।

यस्तो नाजुक अवस्थामा रहेको तुइनबाटै ज्यानको जोखिम मोलेरै यात्रा गर्न बाध्य भएको बिमला सेढाइले बताउनुभयो । जीर्ण रुपमा रहेको तुईन बाहेक अरु कुनै बाटो नहुदाँ कृषकहरुलाई कृषि उपज बजार सम्म पू¥याउन समस्या भएको स्थानीय शिव त्रिपाठीले बताउनु भयो । तुईन जिर्ण भएको भन्दै पटक पटक जानकारी गराएपछि बल्ल बल्ल पुल बनाउने काम शुरु भएको थियो झोलुङगे पुल नभएकै कारण विद्यालय जाने बालबालिकाहरु तुइन तरेर विद्यालय जाने गरेका छन् । तुइनबाट बिरामीहरुलाई अस्पताल लैजान समेत समस्या हुने गरेको स्थानीयहरु बताउँछन् ।
यसरी पूल निमार्णका विषयमा पटक पटक गुनासो गर्दा निमार्ण कम्पनिका ठेकेदारले भने बिजुलीको हाईटेन्सनलाई कारण देखाउदै आएका छन् । हाईटेन्सन लाईनको टावर निर्माणको लागि खाडल खनिएतापनि त्यसलाई स्थानान्तरण गराउन लाग्दा ढिलासुस्ती भएको स्विकार्दै कम्पनिका ठेकेदार महेन्द्र अधिकारीले अवको १५ दिन भित्रमा काम सम्पन्न गरी सक्ने बताउनु भएको छ । स्थानीयहरु भने पुल समयमै निर्माण भइदिए जीवन नै फेरिने आशामा बसेका छन् ।