जेठ २६
इजरायल – नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाको १२ औं वार्षिकोत्सव तथा साधारण सभा हुदैछ । २०२४,जुन १४ तारिख शुक्रबारका दिन इजरायलको तेलअभिवमा कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ । ‘पहिचानका लागि युवा’ (Youth For Identity) “विश्वका आदिवासी जनजाति एक हौं,आफ्नो भेषभुषा,भाषा, लिपी,कला,संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौं” भन्ने मूल नारा सहित १२ औं वार्षिकोत्सव तथा साधारणसभा मनाउन लागिएको हो । सन २०१२ मा स्थापना भएको यस संघले नियमित रुपमा आफ्नो कार्यक्रमहरु गर्दै आएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज लगाएतका संघ–संस्थाहरु आवद्ध रहेका छन् । नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक परिषदका सदस्य पेम्बा डोल्मो ह्योल्मोको प्रमुख आतिथ्यतामा हुने वार्षिकोत्सव तथा साधारण सभाले आगामी एक वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने नेफिन इजरायलका महासचिव रन्जना ग्याबक तामाङले जानकारी दिनुभयो ।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुसार निश्चित भू–भागमा प्राचीन समयदेखि बसोबास गर्दै आएको आफ्नै संस्कृति, भाषा, धर्म, रीतिरिवाज रहेको लिखित वा अलिखित इतिहास रहेको र चार वर्णको हिन्दु वर्णाश्रम भित्र नपर्ने समुदायलाई आदिवासी जनजाति भनि परिभाषित गरेको छ । नेपालमा ६० आदिवासी जनजातिहरु सुचिकृत रहेका छन् । नेपालको कुल जनसंख्याको करिब ३८ प्रतिशत जनजातिहरु रहेका छन् ।
वि.स.२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघको मुख्य उदेश्य आदिवासी जनजातिहरुको हक,अधिकार र पहिचानका लागि पैरवी गर्नु हो । यो एक गैर राजनितिक जातिय र सामाजिक संगठन हो । यस महासंघको नेपालमा नेपालको संघिय संरचनाअनुसारका संरचनाहरु निर्माण गरिएको छ भने प्रवासमा पनि यसका संरचनाहरु क्रियाशिल रहेका छन् । नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाले कार्यक्रममा उपस्थितिको लागि संघमा आवद्ध संघ–संस्थाहरु, धार्मिक, सामाजिक र राजनैतिक संङगठनहरुका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि अनुरोध गरेका छन् ।