नीलकण्ठ नगरपालिकाले असार १४ गते रोजगार मेला गर्ने भएको छ ।

रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदातामा बिच समन्वय गराउने उद्देश्यले नगरपालिकाले रोजगार मेलाको आयोजना गरेको नीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन मार्फत मेलाको बारेमा जानकारी गराउनुहुँदै उपप्रमुख दिपक विश्वकर्माले चालु आर्थिक वर्ष २०८०/०८१ म रोजगार मेला गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममै व्यवस्था भएपनि मेला गर्न ढिलाई भने भएको बताउनुभयो । नीलकण्ठ नगरपालिकाले रोजगार मेला सान्दर्भिक ठानेर गत वर्ष नै नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उल्लेख गरेको र त्यसको लागि बजेटसमेत विनियोजन गरेको उपप्रमुख विश्वकर्माले बताउनुभयोे ।

एकातिर रोजगारी नपाउने र अर्र्काेतिर रोजगारदताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न यो मेलाले सहयोग गर्ने अपेक्षा लिएको छ । ‘श्रम खोज्नेको ठूलो संख्या छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाएर अन्यत्रबाटै श्रमिक भित्राएका छन् । श्रमिक र रोजगारदाता बीच खाडललाई अन्त्य गर्न यस्तो मेलाले सहयोग गर्ने विश्वकर्माले बताउनुभयो । नीलकण्ठ बाल मन्दिर माविमा हुने मेलामा सरकारी, निजी, गैरसकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धी १४ ओटा स्टल रहने बताईएको छ ।

मेलामा धादिङ उद्योग बाणिज्यसंघ, चेम्वर अफ कमर्श, होटल संघ, उद्योग तथा बाणिज्य कार्यालय, कृषि विकास तथा पशुसेवा कार्यालय, उद्यमशीलतामा काम गर्ने विभिन्न संस्थाहरु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र लगाउतले स्टल राखेर रोजगारी सम्वन्धि परामर्श दिने बताइएको छ ।

मेलामा नागरिकका लागि आवश्यक सीप सिक्ने वातावरण बनाउन इच्छानुसारको तालिम माग गर्ने र त्यसलाई रोष्टर तयार गरी विभिन्न निकायले सञ्चालन गर्ने तालिममा सहभागि गराउने व्यवस्था मिलाईने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

Facebook Comments