धादिङबेसीमा हुन लागेको धादिङ लोक–सांस्कृतिक महोत्सव–२०८१ बाट संकलन हुने रकमबाट कलाकार कल्याणकारी कोष स्थापन गरिने भएको छ ।

कलाकारको संरक्षण गर्ने र धादिङको मौलिक कला संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवबाट भएको खुद नाफाबाट कलाकार लोक कल्याणकारी कोष स्थापन गरिने आयोजक संस्था सामुदायिक संचार तथा विकास केन्द्र धादिङका अध्यक्ष दिपक कोईरालाले बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि “कलाकार कल्याणकारी कोष“ स्थापना गरिने भएको हो । महोत्सवको तयारीका विषयमा शनिबार धादिङबेसीमा भएको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराएको हो ।

धादिङमा जन्मिएर लोक संस्कृतिको संरक्षणमा लागेका कलाकारहरुको हक हितका लागि कलाकार कल्याणकारी कोषले सहयोग गर्ने अध्यक्ष कोईरालाले बताउनुभयो । सदरमुकाम धादिङबेसी स्थित खुलामञ्चमा यहि माघ १० देखि २० गते सम्म धादिङ लोक–सांस्कृतिक महोत्सव २०८१ हुँदैछ । महोत्सवको अवसरमा पालिका स्तरिय लोक दोहोरी प्रतियोगीताको लागि २ ओटा गाउँपालिका रुविभ्याली र खनियावास बाहेक अरु ११ ओटा पालिकाबाट टिम दर्ता भईसकिएको आयोजकले जनाएको छ । १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको लोक दोहोरी प्रतियोगीतामा प्रथम हुनेले ५० हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । भने दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने समूहले १० हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

एक सय वटा स्टल राखिने महोत्सवबाट तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ, सामुदायिक विकास संचार तथा विकास केन्द्र धादिङको आयोजनामा सुरु हुनु लागेको महोत्सवको संरक्षकमा नीलकण्ठ नगरपालिका र प्रर्वद्धकमा धादिङ उद्योग वाणिज्य संघ र धादिङ चेम्बर अफ कर्मस रहेको छ ।

लोकसंस्कृति प्रवर्धनको सार : पहिचान, पर्यटन र समृद्धिको आधार भन्ने नारा सहित हुन लागेको महोत्सवमा जिल्ला स्तरिय अन्तरपालिका लोकदोहोरी प्रतियोगीता, विभिन्न जातजातिका लोक सांस्कृतिक प्रस्तुती, राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ । यस्तै विभिन्न जातीय मौलिक खानाका परिकारहरू, घरेलु उद्योग तथा व्यवसायीक स्टलहरू, पर्यटन प्रवर्धन सम्बन्धी विभिन्न क्रियाकलापहरू मौलिक भेषभुषहरूको प्रदर्शनी तथा रमाइलोमेला र बाल उद्यानको मनोरञ्जन रहने आयोजकले जनाएको छ ।

Facebook Comments