

इजरायल – प्रवासी भूमी इजरायलमा रहेका मगर समुदायले माघ्या सकराटी संस्कृतिक साँझ तथा मिनाम ल्हेस ५०१८ शुभकामना आदान–प्रदान कर्यक्रम भव्य रुपमा मनाएको छ । “भेषभुषा, भाषा, धर्म संस्कृतीको संरक्षण एंव विश्व भरिका मगर हरुको एकता अहिलेको आवश्यकता“ भन्ने नाराका साथ शुक्रबार साँझ तेल–अभिव स्थित मातालोन–७३ को हलमा कार्यक्रम मनाएको हो ।
नेपाल मगर संघ.शाखा इजरायलका अध्यक्ष चित्र जुग्जाली मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत प्राध्यापक धनप्रसाद पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । भने नेफिन इजरायलकी अध्यक्ष मनु श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । साथै कार्यक्रममा इजरायलमा स्थापित विभिन्न जातिय तथा सामाजिक संघ – संस्थाका प्रमुख तथा प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।


यस पर्वको अवसरमा मगरहरुको मौलिक र साँस्कृतिक प्रस्तुतिहरुको साथमा मौलिक मगर परिकारहरु खुवाएको थियो । मगराट सभ्यताको एक ऐतिहासिक पर्व “माघ्या सकराटी ” हो । यस पर्वको आफ्नो छुट्टै पहिचान र महत्व रहेको छ । यो पर्व मगर समुदायको नयाँ वर्ष अर्थात “मिनाम ल्हेस” हो । यस पर्वमा मगर समुदायले आफ्ना चेलीबेटीहरुलाइ पुज्ने, पित्री पुज्ने, विभिन्न खेलहरु खेल्ने, आफन्त इष्टमीत्रहरुसंग भेटघाट सहित एकआपसमा शुभकामना आदान –प्रदान गर्ने, मिठो मसिनो खानेकुराहरु खिचडी, तरुल खानुका साथै नाचगान गरि रमाइलो गरेर यो पर्वलाइ हर्सोउल्लासका साथ मनाउने गर्दछन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं इजरायलमा लागि नेपाली राजदुत धनप्रसाद पण्डितले आफ्नो शुभकामना मन्तव्य राख्दै नेपालको इतिहासमा मगर समुदायको योगदान ठूलो रहेको रहेको भन्दै दृढता, इमान्दारिता र बहादुरिताको मानक नेपालको मगर समुदायमा रहेको चर्चा गर्नुभयो ।
बैदेशिक रोजगारीको शिलशिलामा इजरायलको विभिन्न क्षेत्र र पेशामा रहेका मगर समुदायहरु संगठित भई सन् २०१३, जुलाइ १३ मा नेपाल मगर संघ शाखा इजरायलको स्थापना भएको हो । यस संघले आफ्नो जातिय र समुदायको भाषा, कला, संस्कृतिको संवद्र्धन तथा संरक्षणको लागि प्रत्येक वर्ष यस पर्वलाइ हर्सोल्लासका साथ भव्य रुपमा मनाउँदै आएको छ ।