
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति एवम् पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल (डिपी) ले धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसँग धादिङका सवालका विषयमा छलफल गर्नुभएको छ ।
गृह जिल्ला आउनुभएका कार्यवाहक सभापती अर्यालले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले प्रयोग गर्दै आएको रक्तसञ्चार सेवा केन्द्र र आयआर्जन भवनको विषयमा छलफल गर्नुभएको छ ।
भेटका क्रममा ‘व्लड बैकलाई कोठा उपलब्ध गराउनुपर्ने , अस्पताल परिसरमा बनेको भवन अस्पतालले प्रयोग गर्न पाउनु पर्ने, अस्पताल र रेडक्रसविचको पुरानो सम्झौता सर्वसाधारणले थाहा पाउनु पर्ने लगायतका माग सहित छलफल भएको बताईएको छ ।
अस्पताल परिसरमा बनेको भवनबाट भएको मासिक करिव एक लाख ३० हजार भन्दा बढी भाडा उठ्दै आएको छ। उक्त भाडा रेडक्रसले लिँदै आएको छ । छलफलपछि प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले धादिङ अस्पतालको यो समस्या एक हप्ताभित्रमा समाधान हुने दाबी गर्नुभएको छ ।
यता नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले प्रयोग गर्ने गरि मन्त्री स्तरीय निर्णय कागजपत्र सुरक्षित रहेको बताउदै आएको छ । रक्तसञ्चार सेवा केन्द्र धादिङ सञ्चालन र आयआर्जन भवन बनाउनका लागि धादिङ अस्पताल, स्वास्थ्य कार्यालय र मन्त्री स्तरीय निर्णय पश्चात भवन बनेको रेडक्रस धादिङ दाबी छ ।
जग्गा स्वास्थ्य विभागकै नाममा रहने तर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले प्रयोग गर्ने गरि रक्तसञ्चार सेवा केन्द्र बनाउन र आयआर्जन भवनका लागि जग्गा दिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङसँग यो कागजपत्र सुरक्षित रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले जनाउदै आएको छ ।

र्यापिड एक्सन टिम गठन
धादिङ आईपुग्नुभएका अर्यालले जिल्ला कार्य समितिको वैठकको सम्बोधन गर्दै रास्वपाको सभापति रवि लामिछाने निर्दोष रहेको बताउनुभएको छ । रास्वपा सक्काउने खेल मात्र भएको उहाँको दावी छ ।
धादिङको विकास निर्माण, सुशासन लगायतका विषयमा रास्वपाले प्राथमिकता दिएको बताउनुभयो । जिल्ला कार्य समितिको वैठकको अवसरमा रास्वपाको र्यापिड एक्सन टिम गठन गरेको छ ।
टिमको जिल्ला संयोजकमा दिपक अधिकारीलाई चयन गरेको छ । सदस्यहरु प्रत्येक पालिकाबाट एक/एक जना चयन गरिने संयोजक अधिकारीले जानकारी दिनुभयो ।