फागुन ६
इजरायल – प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा आयोजित “दोस्रो संस्करण क्या.लखन थापा मगर स्मृति कप – २०२५, मा भलिबल तर्फको उपाधि कृषि भलिबल टीम इजरायल र मामानेटको उपाधि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले जितेको छ । भलिबल प्रतियोगितामा नेपाल मगर संघ शाखा इजरायल उप–विजेता बनेको छ । प्रतियोगिता १५ फेब्रुअरी शनिबारका दिन लेभेनस्की फुटसल पार्क तेलअविभमा सम्पन्न भएको हो । नेफिन इजरायलले “प्रथम शहिदलाइ सम्मान ! खेलाडीहरुलाइ प्रोत्साहन !!!” भन्ने नाराका साथ पुरुष भलिबल तथा महिला मामानेट प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा भलिबल तर्फ नेपाल मगर संघ शाखा इजरायल, प्रवासी नेपाली मंच इजरायल, एन आर एनए एनसिसि इजरायल, किराँत याक्थुङ चुम्लुङ इजरायल, इजरायली कृषि भलिबल टीम, लायन्स तेल–अविव इजरायल, सुदुर पश्चिमेली नेपाल समाज इजरायल, नेपाल आदिवासी जनजाती महासंघ इजरायल सहित कुल ८ वटा टीमको सहभागिता रहेको थियो । मामानेट तर्फ नेपाल आदिवासी जनजाति महासंघ इजरायल र नेपाल तामाङ घेदुङ इजरायलबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा खेलहरु नकआउट चरणमा भएको थियो ।


प्रतियोगितामा सहभागि भई विजेता र उप विजेता हुने टिम तथा खेलाडिहरुलाइ पुरस्कार वितरण गर्ने कार्यक्रममा नेफिन इजरायलका अध्यक्ष मनु श्रेष्ठ, इजरायलका लागि नेपाली राजदुत प्रा.धन प्रसाद पण्डितका साथै दुतावास नियोगका उप प्रमुख कुमार बहादुर श्रेष्ठ लगाएतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भलिबल तर्फ विजेता हुने इजरायली कृषि भलिबल टीमलाइ नगद ४ हजार ५ सय सेक्केल र उप विजेता हुने नेपाल मगर संघ शाखा इजरायललाइ २ हजार २ सय सेक्केल सहित ट्रफी, मेडल, प्रमाण पत्र सहित सम्मान गरेको थियो । साथै मामानेटमा विजेता हुने नेफिन इजरायललाइ नगद १ हजार सेक्केल सहित ट्रफी, मेडल, प्रमाण पत्रद्धारा सम्मान सहित पुरस्कृत गरेको थियो । प्रतियोगितामा भलिबल तर्फ उत्कृष्ट खेलाडीको रुपमा कृषि भलिबल टीम इजरायलका निहाल विश्वकर्मा र मामानेट तर्फ नेफिन इजरायलका जानुका निरौलालाइ नगद २ सय सेक्केल सहित ट्रफी र प्रमाण पत्रद्धारा पुरस्कृत गरेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको आयोजना र नेफिन इजरायलमा आवद्ध रहेका विभिन्न राष्ट्रिय समुदाय संघ–संस्थाहरुको सह–आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । दोस्रो संंस्करणमा पहिलो पटक सहभागीता जनाउदै कृषि भलिबल टीम इजरायल विजेता बनेको हो । विजेता हुने टिम रामेश्वर कर्मचार्याको कप्तानी र गणेश लामा तामाङको कोचमा प्रतियोगितामा सहभागी भएको थियो । विजेता हुने टिमले राम्रो समन्वय सहित खेल प्रदर्शन गरेका थिए । पहिलो संस्करणमा विजेता बनेको नेपाल मगर संघ शाखा इजरायल उप विजेता बनेको छ । उप विजेता बनेको लायन तेलअविभ भने यस पटक रिक्तो हात फर्किन परेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज लगाएतका संघ–संस्थाहरु आवद्ध रहेका छन् । सन २०१२ मा स्थापना भएको नेफिन इजरायलले विभिन्न सामुदायिक संघ –ं संस्थाहरुको बीचमा आपसी सद्भाव र समन्वय कायम गर्दै खेलकुदको प्रवर्दन गर्नको लागि समय–समयमा यस्ता विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।