इजरायलले इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ताले इरानमाथि पूर्ण हवाई नियन्त्रण हासिल गरेको बताएका बीबीसीले जनाएको छ ।

इजरायलले इरानको एक तिहाइ मिसाइल प्रक्षेपण यन्त्र नष्ट गरेको ब्रिगेडियर जनरल एफी डेफ्रिनले मिडिया ब्रिफिङ्गका क्रममा बताउनुभयो । इजरायलले आफ्नो वायुसेनाले रातभरि आक्रमणको लहर चलाएको बताएको छ भने इरानी मिडियाले देशको पश्चिममा नयाँ आक्रमणहरू शुरू भएको उल्लेख गरेका खबरमा उल्लेख छ । यस्तै इरानले राति इजरायलमा क्षेप्यास्त्र प्रहार गर्दा केही आइरन डोम प्रतिरक्षा प्रणालीमा प्रवेश गरेको बताएको छ ।

शुक्रवारयता इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रवारयता इजरायली आक्रमणमा कम्तीमा २ सय २४ जनाको ज्यान गएको बताएको छ ।

यसैबीच चीनले इरान र इजरायललाई तनाव कम गर्न तुरुन्तै कदम चाल्न आग्रह गरेको छ । इरानले इजरायली शहरहरूमा मिसाइल आक्रमणको वर्षा गरेपछि र इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यहरूमा प्रहार गरेपछि चीनले दुवै देशलाई तनाव कम गर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुवै देशलाई ठूलो अशान्तिमा डुब्नबाट रोक्न र वार्तालापमार्फत समस्या समाधानको सही बाटोमा फर्कने अवस्था सिर्जना गर्न आग्रह गर्नुभएको छ ।

इरानसँग चीनको घनिष्ठ सम्बन्ध छ । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र यसको तेलको मुख्य खरिददाता हो । अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म गर्न आग्रह गरे पनि मध्यपूर्वलाई समेट्न सक्ने लामो द्वन्द्वको डर उत्पन्न गर्दै इजरायल र इरानले यति तीव्रताका साथ आक्रमण बढाएको यो पहिलो पटक हो । रुस–युक्रेन, इजरायल–हमास युद्ध चलिरहेका बेला इरान र इजरायलबीच पनि द्वन्द्व बढेपछि विश्वकै आर्थिक र राजनीतिक सङ्कट थप चुलिने चिन्ता थपिएको छ ।

Facebook Comments