
नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डाक्टर मुरारी अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । नीलकण्ठ क्याम्पसले आयोजना गरेको एक कार्यक्रमकाविच आज अधिकारीले पदभार ग्रहण गर्नुभएको हो ।
धादिङ जिल्लाको जिल्ला सदरमुकाम नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी ४ बर्षे कार्यकालको लागि अधिकारी क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको हो ।
पदभार ग्रहण गर्दै डाक्टर अधिकारीले क्याम्पसलाई थप परिस्कृत गर्दै उत्कृष्ट क्याम्पस बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘पदले म क्याम्पस प्रमुख हुँ । तर यो नीलकण्ठ बहुमुखी क्याम्पस सबैको साझा संस्था हो । सबैले क्याम्पस प्रमुख सरह महसुस गर्ने गरि काम गर्नेछु’ उहाँले भन्नुभयो । प्रविधियुक्त कक्षा कोठा र शिक्षण सिकाईलाई समेत ध्यान दिई अगाडी बढ्ने प्रतवद्धता व्यक्त गर्नुभयो ।
नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, क्याम्पसका पूर्व अध्यक्षहरु शम्भुकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष नवराज शर्मा लगायतले शुभकामना दिदै क्याम्पसलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
विक्रम सम्वत २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन ९त्तब्ब्० प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो । स्नातक तथा स्नाकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिव एक हजार विद्याथीहरु अध्ययनरत छन् । नीलकण्ठ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुइ कार्यकालको ८ वर्ष भन्दा लामो सयम पश्चात क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने विषयमा चर्चा चलेको थियो ।
क्याम्पस सञ्चालन समितिको ११३औं वैठकबाट अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकेको हो । अधिकारी डेढ दशक लामो समयदेखि अध्यापन पेशामा निरन्तर सक्रिय हुनुहुन्छ । त्यस्तै गरि, २ दशकदेखि पत्रकारितामा समेत उनी सक्रिय हुनुहुन्छ । अध्यापन र पत्रकारिता दुवै पेशालाई एकै साथ अगाडी बढाइरहेका अधिकारी दुवै पेशामा अब्बल र सक्रिय हुनुहुन्छ । गोरखापत्र दैनिकमा आवद्ध अधिकारी पत्रकारहरुको हक हितमा काम गर्ने विभिन्न संघसंस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ ।