साउन २४
इजरायल – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायल र सदस्य सामुदायिक संस्थाहरुको संयुक्त आयोजनामा ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाउने तयारी गरेको छ । यहि अगष्ट १५ तारिख शुक्रबारका दिन साँझ इजरायलको मुख्य शहर तेलअविभ स्थित लेभेन्स्की पार्क (फुटसल ग्राउण्डमा) दिवस मनाउन लागेको हो ।
कार्यक्रममा नेफिन इजरायलमा आवद्ध सामुदायिक सदस्य संस्थाहरुको मौलिक कला, संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतिहरुका साथमा खानाका विभिन्न परिकारहरु खुवाउने नेफिन इजरायलका उपाध्यक्ष एवं ३१ औं विश्व आदिवासि जनजाति दिवस आयोजक समितिका झाँकी तथा साँस्कृतिक संयोजक बिन्दु तमुस्योले जानकारी दिनुभयो । संयोजक तमुस्योका अनुसार मौलिक खानाका परिकारहरुमा शेर्पा संघ इजरायलको तर्फबाट खाप्से र फेमर, नेपाल मगर संघ शाखा इजरायलको तर्फबाट बारा र बिरम्ला, राष्ट्रिय नेवा : खल इजरायलको तर्फबाट बारा र अण्डा, तमु समाज इजरायलको तर्फबाट लोकल रक्सि र सेल रोटी, नेपाल तामाङ्ग घेदुङ्ग इजरायलको तर्फबाट बाबरको रोटी, गुन्द्रुक र भटमासको थोङ्चे, किरात राई यायोख्खा इजरायलको तर्फबाट छाङ्ग, तिते र फिलिङ्गेको अचार, किराँत याक्थुङ्ग चुम्लुङ्ग इजरायलको तर्फबाट छाङ्ग, आलुको अचार र चाम्रे, ह्योल्मो समाज इजरायलको तर्फबाट आलु थोङ्से र भावर खुवाउने कार्यक्रम रहेको छ ।

त्यसै गरि कार्यक्रममा सामुदायिक सदस्य संस्थाहरुको मौलिक कला, संस्कृति झल्कने झाँकी सहितको साँस्कृतिक प्रस्तुतिहरु पनि रहनेछ । जसमा तमु समाजको तर्फबाट स्वागत नृत्य र कौडा नृत्य, नेपाल तामाङ घेदुङको तर्फबाट मेहेन्दोमाया र सेलो नृत्य, शेर्पा संघको तर्फबाट सेप्ह्रि सेप्रोक नृत्य, किराँत याक्थुङ चुक्लुङको च्याबु्रङ नृत्य, राष्ट्रिय नेवा : खलको नेवा नृत्य , नेपाल मगर संघको साँस्कृतिक नृत्य र ह्योल्मो समाजको साँस्कृतिक श्याब्रु नृत्य प्रस्तुत गरिनेछ ।
“प्राकृतिक श्रोत, जल, जमीन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिस्चित गर ! UNDRIP र ILO 169 सम्बन्धि सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर“ !! भन्ने मूल नारा सहित मनाउने विश्व आदिवासी जनजाति दिवसमा नेपली दुतावास इजरायलका राजदुत धन प्रसाद पण्डितको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । हरेक वर्ष ९ अगष्टका दिन विश्वभर रहेका आदिवासी जनजातिहरुले विश्व आदिवासी जनजाति दिवस मनाउने गर्दछन् ।
सन् २०१२ मा स्थापना भएको नेफिन इजरायलमा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमु समाज, राष्ट्रिय नेवा : खल, किराँत राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, शेर्पा संघ, ह्याल्मो समाज आवद्ध रहेका छन् ।











