सरकारका दुई मन्त्रीसहित प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकारको टोलीले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका कार्यालय भवनहरूको निरीक्षण गरेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिमा रहनुभएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले पार्टी कार्यालयको निरीक्षण गर्नुभएको हो ।

घटना भएको साढे तीन महिनापछि सरकारका तर्फबाट भएको निरीक्षणले पनि चुनावको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा छ ।

कांग्रेस पार्टी कार्यालयको भ्रमणपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री जगदीश खरेलले दलका कार्यालय निरीक्षणको उद्देश्य चुनावको वातावरण थप मजबुत बनाउनु र सरकारले गरिरहेको कामबारे पार्टी कार्यालयमै गएर जानकारी गराउनु रहेको बताउनुभयो ।

यस्तै आन्दोलनका बेला मुख्य दलका पार्टी कार्यालयहरूमा पनि क्षति पुगेकाले तिनको पुनर्निर्माण के–कसरी भइरहेको छ भन्ने जानकारी पनि लिन खोजेको उहाँकाे भनाइ छ ।

Facebook Comments