पौष २२
इजरायल – जनवरी १६ तारिखको साँझ तेलअभिवमा नेपाल मगर संघ शाखा इजरायलले माघ्या सकराटी साँस्कृतिक साँझ तथा शुभकामना आदान – प्रदान  कार्यक्रम गर्ने भएको छ । नेपालीहरुको राष्ट्रिय पर्व एवं मगर समुदायको प्रमुख चाड मिनाम ल्हेस ५०१९ (नयाँ वर्ष) को पावन अबसरमा कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ इजरायलले जनाएको छ ।

“भेषभुषा, भाषा, धर्म, संस्कृतीको संरक्षण एवं विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ मनाउने कार्यक्रममा नेपाली दुतावास इजरायलको प्रमुख आतिथ्यता रहनेछ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको विशिष्ट आतिथ्यतामा हुने कार्यक्रममा इजरायलमा क्रियाशिल विभिन्न राष्ट्रिय समुदाय संघ–संस्थाहरु, राजनीतिक, धार्मिक तथा सामाजिक संस्थाहरुलाइ निमन्त्रणा गरिएको छ । साथै कार्यक्रममा इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषीहरुलाइ सहभागिताको लागि निमन्त्रणा सहित अनुरोध गरिएको नेपाल मगर संघ शाखा इजरायलका प्रथम उपाध्यक्ष तथा माघ्या सकराटी साँस्कृतिक साँझ तथा शुभकामना आदान – प्रदान कार्यक्रमका कार्यक्रम संयोजक विवस आले मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा मगर संस्कृति झल्किने मौलिक सांस्कृतिक प्रस्तुतिहरुका साथमा अन्य विविध साँस्कृतिक प्रस्तुतीहरु सहित मौलिक मगर परिकारहरु बारा, तरुल, सेलरोटी, बिरम्ला खाना पाईनेछ । नेपाल मगर संघ शाखा इजरायलले अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि भव्यताका साथ माघ्या सकराटी साँस्कृतिक साँझ तथा शुभकामना आदान – प्रदान कार्यक्रम मनाउने तायारी गरिरहेका छन् ।

मगराट सभ्यताको एक ऐतिहासिक पर्व “माघ्या सकराटी ” हो । यस पर्वको आफ्नो छुट्टै पहिचान र महत्व रहेको छ । यो पर्व मगर समुदायको नयाँ वर्ष अर्थात “मिनाम ल्हेस” हो । यस पर्वमा मगर समुदायले विशेष गरि आफ्ना चेलीबेटीहरुलाइ पुज्ने, पित्री पुज्ने, विभिन्न खेलहरु खेल्ने, आफन्त इष्टमीत्रहरुसंग भेटघाट सहित एक –आपसमा शुभकामना आदान –प्रदान गर्ने, मिठो मसिनो खानेकुराहरु सहित खिचडी, तरुल खाने गर्दछन् । यसका साथै नाचगान गरि रमाइलो गरेर यो पर्वलाइ हर्सोउल्लासका साथ मनाउने गर्दछन् ।

मगर समुदाय नेपालमा बसोवास गर्ने एक आदिवासी जनजाति हो । यस समुदायको आफ्नो ऐतिहासिक र पूरानो इतिहास छ । जस अन्र्तगत आफ्नै भाषा, लिपि, भेषभुषा, धर्म संस्कार, संस्कृति र रितिरिवाजहरु रहेका छन् । विशेष गरि नेपालको पश्चिमी / गण्डक क्षेत्रमा मगर समुदायको धेरै बसोबास रहेका छन् ।

बैदेशिक रोजगारीको शिलशिलामा इजरायलको विभिन्न क्षेत्र र पेशामा रहेका मगर समुदायहरु संगठित भई सन् २०१३ मा नेपाल मगर संघ शाखा इजरायलको स्थापना भएको थियो । यस संघले आफ्नो जाति र समुदायको भाषा, कला, संस्कृतिको संवद्र्धन तथा संरक्षणको लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलमा आवद्ध विभिन्न राष्ट्रिय सामुदायिक संस्थाहरुमा नेपाल मगर संघ इजरायल एक सक्रिय संस्थाको रुपमा स्थापित रहेको छ ।

 

Facebook Comments