२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एउटा शिक्षकले बदलिदिएको स्कूल र जीवन

एउटा शिक्षकले बदलिदिएको स्कूल र जीवन

स्कूल प्रायः विद्यार्थीले अनुभव र स्मृतिका आधारमा सम्झन्छन्; कक्षाकोठा, नियम, गृहकार्य, परीक्षा। तर धेरैलाई स्कूल डर, दबाब, वा असमर्थताको ठाउँ जस्तो लाग्छ। कहिलेकाहीँ, केही गैरजिम्मेवार शिक्षकको शब्द वा व्यवहारले कक्षाकोठालाई अविश्वास र दूरीको स्थान बनाइदिन्छ। समयसँगै विद्यार्थीले विषय मात्र होइन, स्कूललाई नै मन नपर्ने ठाउँ ठान्न थाल्छन्।

तर कहिलेकाहीँ, एउटै शिक्षकले सम्पूर्ण अनुभव बदलिदिन्छ।

साँचो शिक्षकको भूमिका केवल विषय पढाउनुमा सिमित हुँदैन। साँचो शिक्षक भनेको त्यो हो, जसले विद्यार्थीमा लुकेको सम्भावना देख्छ, जसले अरूले नदेखेको क्षमता उजागर गर्छ। उहाँ आदेश दिने व्यक्तित्व होइन, तर प्रेरक, मार्गदर्शक, र विश्वास दिने शक्ति हुन्छ।

मेरो मामलामा, म जीवनभर मौन र introvert विद्यार्थी थिएँ। पढाइमा कमजोर होइन, तर दृश्यमा कहिल्यै देखा परिन। धेरै शिक्षकले मलाई बुझ्दैनथे। तर म जीवनमा एउटा शिक्षकसँग भेटें, जसले मेरो भित्रको सम्भावना देख्नुभयो र मलाई उठाइदिनुभयो। उहाँले मेरो ऊर्जा, सोच, र क्षमता देखाउनुभयो। हरेक सानो प्रयासको कदर गर्नुभयो, गल्ती हुँदा शिक्षा मात्र होइन, विश्वास पनि दिनुभयो। उहाँको मार्गदर्शनले मेरो आत्मविश्वास उचालिदियो, मेरो सोच विस्तार भयो, र मेरो दृष्टिकोण नै परिवर्तन भयो।

उहाँले सिकाउनुभयो “केवल अंक र परिणाम होइन, तिमीले जे गर्न सक्छ्यौ, त्यो नै महत्वपूर्ण छ।”

त्यसपछि स्कूल मेरो लागि केवल भवन वा नियमको संग्रह भएन। यो बन्यो सकारात्मकता, सम्भावना, र प्रेरणाको ठाउँ। मैले बुझें शिक्षकको शक्ति केवल विषय पढाउनमा सीमित छैन; ऊ विद्यार्थीको जीवनमा दिशा दिन सक्छ, भविष्यमा आत्मविश्वास जगाउन सक्छ, र कहिलेकाहीँ सम्पूर्ण दृष्टिकोण नै बदल्न सक्छ।

आज म उहाँलाई सम्झन्छु। उहाँले शायद कहिल्यै थाहा पाउनुहुन्न कि मेरो जीवनमा उहाँले कति ठूलो प्रभाव पार्नुभयो। उहाँले मलाई सामान्य विद्यार्थीभन्दा माथि उठ्न सिकाउनुभयो। उहाँले देखाउनुभयो कि कहिलेकाहीँ केवल विश्वास, माया, र ध्यानले पनि कसैको भविष्य बदल्न सकिन्छ।

शिक्षक-विद्यार्थीको सम्बन्ध केवल पाठ्यपुस्तक वा परीक्षा मात्र होइन। यो सम्बन्ध विश्वास, प्रेरणा, र दृष्टिकोणको निर्माण हो। एउटै असल शिक्षकले विद्यार्थीलाई केवल पढाउँदैन; ऊ उसलाई आफूमा विश्वास गर्न सिकाउँछ, सपना पुरा गर्न अघि बढ्न प्रेरित गर्छ, र जीवनभर सम्झन योग्य पाठ दिन्छ।

त्यसैले स्कूल र शिक्षकको मूल्य केवल नतिजामा नापिएन। कहिलेकाहीँ, एउटै शिक्षकले विद्यार्थीको दृष्टिकोण, सोच, र आत्मविश्वास बदलिदिन्छ। र त्यो परिवर्तन जीवनभर रहन्छ।

धेरै धेरै धन्यवाद, मेरो प्रिय शिक्षक भरत थापा । तपाईंको योगदान मेरो जीवनमा कहिल्यै नबिर्सिने छ।

यो समाचार सेयर गर्नुहोस्
अस्मिता आचार्य लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।