नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर घलेले विकास र जनगुनासो समाधान आफ्नो पहिलो एजेन्डा रहेको बताउनुभएको छ ।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत शनिबार नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ का विभिन्न टोलमा पुगेर स्थानीयसँग संवाद गर्दै घलेले नागरिकको विश्वासलाई काममार्फत् प्रमाणित गर्ने बताउनुभयो । वडा नम्बर ११ को काफलस्वाँरामा आयोजित कोणसभामा बोल्दै उहाँले सडक, खानेपानी, खेलमैदानदेखि रोजगारी सिर्जनासम्मका विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

“अब आश्वासन होइन, काम चाहिन्छ भन्ने जनताको आवाज मैले सुनेको छु,” उहाँले भन्नुभयो “म जितेपछि संसद्मा तपाईंहरूको मुद्दा जोडदार रूपमा उठाउनेछु ।” कार्यक्रममा स्थानीयवासीले सडक अवस्था, खानेपानीको अभाव, खेलकुद पूर्वाधारको कमी तथा युवाहरूका लागि रोजगारी नभएको गुनासो गरेका थिए ।

ती सबै विषयलाई प्राथमिकताका साथ समाधान गर्ने उम्मेदवार घलेले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले लामो समयदेखि जटिल बन्दै आएको बायुगुठी समस्यालाई संसद्मा सशक्त रूपमा उठाउने पनि बताउनुभएको छ । “बायुगुठीको अन्याय अन्त्य नभएसम्म म चुप लागेर बस्दिनँ,” उहाँले भन्नुभयो । घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेकोे थियो ।

Facebook Comments