
सरकारले अब साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। यो निर्णय भोलिदेखि नै लागू हुनेछ।
मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति असहजतालाई ध्यानमा राखेर सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्था हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हाे। योसँगै कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ।
यो निर्णय भोलि चैत २३ गतेदेखि लागू हुनेछ।
यस्ता छन् निर्णय
१.अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि क्रमशः एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
२.अर्थ मन्त्रालयकै दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
३.संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने।
४.राष्ट्रिय समाचार समितिबाट कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको राजीनामा स्वीकृत गर्ने।
५.पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने।
६.डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने र अन्तिममा आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने।