
कार्तिक १९, धादिङ ।
काठमाडौँलाई ८५ प्रतिशत धुमपानरहित बनाउने अभियान शुरु हुन लागेको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौलासम्बन्धी रोगले मानिसको मृत्यु हुने क्रम बढ्न थालेपछि त्यसको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउन यस्तो कार्यक्रम ल्याउन लागेको हो । विश्व स्वास्थ्य संगठनका सद्भावना राजदूत मिचेल आर ब्लोमवर्गको सहयोगमा जनस्वास्थ्य कार्यालय काठमाडौँले शहरलाई अभियान शुरु गर्न लागेको हो । गत वर्ष संसारका १२औं धनी व्यक्ति अमेरिकाको न्युर्योक शहरका तथा पूर्वप्रमुख मिचेल आर ब्लोमवर्गलाई संगठनले नसर्ने रोग र इन्जुरी नियन्त्रणका लागि सद्भावना राजदूत नियुक्ति गरेको थियो । उहाँले संसारका विभिन्न ५० शहरलाई स्वस्थ शहर बनाउने घोषणा गर्नुभएको थियो । त्यसै अन्तर्गत नेपालको काठमाडौंलाई रोजेको पनि उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १६ लाख मानिसको नसर्ने रोगका कारण ७० वर्ष अगाडि नै मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पनि नसर्ने रोगबाट हुने मृत्युदर ६० प्रतिशतभन्दा बढी छ ।