
मंसिर २५, धादीङ ।
आचारसंहिता र पेशागत अनुशासनमा रहेर पत्रकारिता गर्न संचार तथा सुचना प्रविधि मन्त्री एवंम नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले सुझाव दिनुभएको छ । नेपालको पत्रकारिताको अनुभव लामो नभएको र सिक्दै गएको भन्दै सिद्धान्त पढेका तर व्यवहारिक रुपमा ल्याउन धेरै नै बाँकी रहेको उहाँले बताउनुभयो । प्रेस जगत सारा नेपालीको अधिकार तथा कर्तव्यसँग जोडिएको भन्दै सत्य तथ्य र विकासपरक पत्रकारिता आवश्यक रहेको उहाँको भनाई छ । राजनितिक आस्था र विचारको पक्षमा भन्दा पनि सुखी नेपाली समृद्ध नेपालको अभियानमा सहयोग पुग्ने गरि पत्रकारिता गर्न अनुरोध गर्नुभयो । आलोचना मात्रै भन्दा पनि विकासको पाटोमा बाटो देखाउने पत्रकारिता आवश्यक रहेको उहाँको भनाइ छ । पत्रकार राज्यको चौथो अङ्ग र तेस्रो आँखाले चिनिएको छ । तर पछिल्लो समय पत्रकारिता क्षेत्रमा हुदै गएको विकृतिप्रति सबैले सजक रहन आवश्यक रहेको मन्त्री बास्कोटाले बताउनुभयो । पत्रकारको तलव ५० प्रतिशत वृद्धिको माग भएपनि नेपाली बजार र संचार माध्यमको क्षमता हेरेर २५ प्रतिशत तलव वृद्धि गरेको उहाँको भनाइ छ । तर वृद्धि भएको २५ प्रतिशत तलव लागु गर्न पनि समस्या भएको छ । पत्रकारका लागि शुन्य कोष थियो । तर अहिले ३ करोडको कोष बनाएको र अब २ महिनाभित्र ५ करोड बनाउने पनि उहाँले बताउनुभयो । साथै संचार मन्त्री बास्कोटाले जिल्ला हुलाक कार्यालय र सरकारी कार्यालयका प्रमुखहरुसँग पनि भेटघाट गर्नुभएको थियो ।

एक प्रसंगमा मन्त्री बास्कोटाले प्रतिपक्षमा रहेर सरकारले केहि नगरेको आरोप लगाउनेले २२ वर्षको लामो इतिहासलाई भुल्न नहुने उहाँले बताउनुभयो । प्रतिपक्षमा रहेर पनि त्यो समय हामीले सहयोग गरकै हौं । अहिले प्रतिपक्षमा रहेर झुटो आरोप लगाएर तथ्यहिन कुरा गरेर सरकारलाई असफल बनाउने कुचेष्टा नगर्न मन्त्री बास्कोटाले आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ धादिङको २० औं साधारणसभा तथा धादिङ संचार सहकारी संस्थाको आठौं साधारणसभामा गर्दै मन्त्री मन्त्री बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
तीन पत्रकार सम्मानित


पत्रकार महासंघ जिल्ला शाखा धादिङले हरेक वर्ष प्रदान गर्दैै आएको विकास पत्रकारिता पुरस्कारबाट विकास पत्रकारीता पुरस्कार २०७४ बाट राष्ट्रिय समाचार समिति धादिङका पत्रकार सीताराम अधिकारीलाई सम्मान गरेको हो । त्यसै गरि विकास पत्रकारिता पुरस्कार २०७५ बाट कान्तिपुर टेलिभिजन धादिङका पत्रकार पोषनाथ अधिकारीलाई सम्मान गरीएको छ । सम्मानित हुने पत्रकारहरुलाइ प्रमाणपत्र, दोसल्ला र नगद रु. १० हजार सहित सम्मान गरिएको हो । त्यसै गरि पत्रकार राजेन्द्रप्रताप शाहलाई पनि पत्रकार शालिकग्राम प्रसाद बर्मा स्मृति पुरस्कार २०७५ बाट सम्मान गरीएको हो । पत्रकार शाहलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र बर्मा परिवारद्धारा स्थापना गरिएको पत्रकार शालिग्रामप्रसाद बर्मा स्मृति पुरस्कार २०७५ बाट प्रमाणपत्र, दोसल्ला र नगद ५ हजार सहित पुरस्कृत गरिएको हो । त्यस्तै छात्रवृत्ति कोषबाट निलकण्ठ उच्च माध्यामिक विद्यालयमा पत्रकारिता अध्यायनरत दुई जना विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ । साथै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष एवंम सामुदायिक रेडियोहरुको अन्र्तराष्ट्रिय संस्था एसिया प्यासिफिक (अमार्क) का उपाध्यक्ष सुवास खतिवडा सम्मानीत हुनुभएको छ ।
