
पुस ७, काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीकोे बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथीको छलफलमा आजसम्म ४६ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् । आजको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले आफ्नो धारणा राख्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
गत मंसिर २९ गतेदेखि सुरुभएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट हालसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएको छ ।
बैठकमा सरकारका कार्यसम्पादनका बारेमा नेताहरुले धारणा राख्नुभएको छ । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिनुभएको छ । प्रतिवेदनमाथि छलफल चलिरहँदा नेताबाट प्राप्त सकारात्मक सुझावलाई सम्बोधन गरेर समृद्ध बनाउँदै हालसम्म भए गरेका कामको राम्रो र कमीकमजोरीका पक्षलाई नियालेर आम पार्टी पङक्ती र कार्यकर्तालाई उत्साहित ढङ्गले बाँकी कार्यभार पूरा गरेर अघि बढ्ने गरि बैठकले निष्कर्ष निकाल्नु पर्ने अधिकांश नेताहरुको भनाई रहेको छ ।
बैठकले पुस ६ गते शुक्रबार अपराह्न शैक्षिक अवलोकन गरेर फर्कने क्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी दुःखद् निधन हुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइतेहरुको प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा जनाइएको छ । नेकपा स्थायी कमिटीको अर्को बैठक पुस ८ गते आइतबार बिहान ८ बजे पुनः बस्ने छ ।