
माघ १ ।
आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले भाषाको हिसाबले बाह्र मगरात, अठारह मगरात र काइकेई मगर भाषा बोल्ने गर्छन् ।
माघे सङ्क्रान्ति पर्व पनि यो समुदायमा एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरिन्छ । प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैलीलाई सङ्क्रान्तिले आत्मसात गरेको मगर राष्ट्रिय सङ्घका अध्यक्ष नवीन रोका मगरले जानकारी दिनुभयो । माघ १देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न जमिनमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन मगर समुदायमा रहेको जानकारी उहाँले दिनुभयो ।
राष्ट्रिपतिको शुभकामना
राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन रहिआएको उल्लेख गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले थारु समुदायमा माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइने उल्लेख गर्नुभएको छ ।
यस्ता पर्वले भौगोलिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान दिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विभिन्न समुदायले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यस विशेष चाडले हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने बताउनुभएको छ ।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ । माघे सङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको बताउनुभएको छ ।
उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहनु अर्थपूर्ण भएको बताउनुभएको छ । माघे सङ्क्रान्तिको अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहेका मगर, थारू र छन्त्याल समुदाय तथा नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।