
फागुन २९।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप बढाउँदै लगेको निष्कर्ष निकाल्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि खलल पार्ने काममा उनीहरु आक्रामक रुपमा लागेको बारेमा मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जानकारी गराउनु भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
राज्यले वार्तामा बोलाउँदा पनि नआएपछि प्रतिबन्ध लगाउनुको विकल्प नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा जानकारी गराउनु भएको थियो । शहरी विकास मन्त्री मोहम्मत इस्तियाक राईले सीआईएनसँगको संक्षिप्त कुराकानीमा भन्नुभयो, ‘प्रतिबन्ध लगाउने बारेमा निर्णय भएको छ तर त्योभन्दा धेरै बताउने अधिकार मसँग छैन ।’
असन्तुष्ट समूहसँग वार्ताका लागि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा केही महिनाअघि वार्ता समिति गठन गरेको थियो । विप्लव समूह बोलाउँदा पनि वार्तामा नआएको समितिका सदस्यले बनाएका थिए । पछिल्लो समय ललितपुरको नख्खुमा एनसेल कार्यालयमा बम आक्रमणका क्रममा एक जनाको मृत्यु भएपछि विप्लव समूहमाथि कारबाही नगरेको भन्दै सरकारमाथि दबाब परेको थियो ।