आज माघ १ गते, माघे अर्थात मकर संक्रान्ति पर्व मनाईदैछ । नेपालका हिन्दु धर्मावलम्वीहरुले विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाउँछन् ।

यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ ।

नेपालका मगर जातिहरू बीच माघे संक्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सँग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ। माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गर्दछन् ।

धादिङका ३ ओटा स्थानिय तहमा सार्वजनिक विदा

माघे संक्रान्तीको अवसरमा धादिङको गल्छी, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकाले माघेसंक्रान्तिको उपलक्ष्यमा आज गाउँपालिका भित्रका सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरुलाई बिदा दिने निर्णय गरेको छ । तिन ओटै गाउँपालिकाको बैठकले माघेसंक्रान्तिमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारीहरुले जानकारी दिएका छन् ।

गाउँपालिकाले माघेसंक्रान्तीलाई स्थानीय पर्वको रुपमा मनाउन विदा दिएको हो । संघिय सरकारले मागी पर्व मनाउने थारु समुदायलाई मागी बिदा दिए पनि अरु समुदायको लागि माघ १ गते बिदा दिएको छैन ।

Facebook Comments