माघ २७, धादिङ ।

आगमी फागुन २ देखि १३ गतेसम्म हुने सातौं धादिङ महोत्सवमा विभिन्न जातजाती/भाषाभाषीको झाँकी प्रदर्शन गरिने भएको छ । जाती, भाषा, धर्म र संस्कृति संरक्षण र भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न महोत्सवमा झाँकी प्रदर्शन गर्न लागिएको धादिङ उद्योग बाणिज्य संघका सचिव एवं प्रचारप्रसार समितिका संयोजक राजेश अधिकारीले बताउनुभयो ।

महोत्सव उद्घाटनको दिन बाहुन, मगर, चेपाङ, कुमाल र दमैका गरी ७ टोलीको पञ्चैबाजा, मगर समुदायको कौरा र घाँटु नृत्य, नेवार समुदायको धिमेबाजा र टाकटुके, घले समुदायको भेषभुषा, तामाङ समुदायको घोडचढी नृत्य लगायतको झाँकी प्रदर्शन गरिने पनि अधिकारीले बताउनुभयो ।

महोत्सव नजिकिदै गर्दा प्रचारप्रसारलाई तिब्र पारिएको पनि संयोजक अधिकारीले बताउनुभयो । प्रचारप्रसारका लागि धादिङमा रहेका सबै एफएम रेडियो, सबै पत्रपत्रिका, अनलाइन र युटुव मार्फत प्रचार कार्यलाई तिब्र पारिएको छ भने जिल्ला विभिन्न स्थानमा व्यानर टाँगिएको छ । त्यैगरी गाउँगाउँमा माइकबाट सूचना गरिएको छ भने धादिङका सबैजसो क्षेत्रमा जाने टूला तथा साना सवारी साधनहरु, काठमाडौं, पोखरा, चितवन, हेटौंडा, विरगञ्ज रुटका बसहरुमा व्यानर राखेर प्रचारप्रसार गरिएको पनि प्रचार संयोजक अधिकारीले त्रताउनुभयो ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गर्न लागेको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताउनुभयो । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको धादिङ उद्योग बाणिज्यसंघले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने छन् । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रदर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ । सामाग्री राख्नका लागि एकसय २५ वटा स्टल निर्माण सम्पन्न भएको स्टल व्यवस्थापन समितिका संयोजक किरण रावलले बताउनुभयो । सातौं धादिङ महोत्सव आगामी फागुन २ गते पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

Facebook Comments