चैत्र १६, धादिङ ।
सरकारले लकडाउनको समयावधि बढाउने भएको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि २५ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो वैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्वोधन गर्दै घोषणा गर्नुभएको थियो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशमा पठाउने निर्णय पनि गरेको छ ।
प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर मेसिन पाउने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो । समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री पठाउने निर्णय पनि गरेको छ ।
विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरूलाई सङ्क्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको समिति सचिवालयका प्रवक्ता सचिव विडारीले बताउनुभयो । नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय पनि गरिएको छ । नेपाली नागरिक भएको प्रमाणित भएपछि मात्रै प्रवेश दिइने छ ।