३२ जेठ, धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लेघारी निगालपानी भ्यूटावर सडक ग्रावेल गर्ने काममा एकपक्षिय रुपमा उपभोक्ता समिति गठन गरि काम गरेको भन्दै स्थानियले काममा अवरोध गरेको छ ।

उपभोक्ता समिति निर्माणको लागी आम स्थानीय उपभोक्ताहरुको भेलाबाट साझा सहमतिको आधारमा उपभोक्ता समिति गठन गरि तोकिएको मापदण्डहरु पूरा गरि सम्बन्धित स्थानिय निकायमा सम्झौता गरि कार्यन्वयनको चरणमा जानुपर्ने हो । तर यो योजना आम  उपभोक्ताहरुको भेला विना नै केहि निश्चित व्यक्तिहरुको उपस्थिति तथा गोप्य रुपमा उपभोक्ता समिति गठन गरिएको भनि काममा अवरोध गरेको थियो । सोहि ठाउँका स्थानियहरुले काम सुरु गरेपछि मात्र योजना परेको कुरा थाहा पाएको बताएका छन् ।

उपभोक्ता समिति गठनमा सबैलाइ नसमेटिएको र राजनितिक आस्थाको आधारमा पक्षपात गरि समिति गठन गरिएको र पटक पटक एउटै व्यक्ति विभिन्न उपभोक्ता समितिहरुमा बसि काम गर्ने गरेको र आर्थिक रुपमा पारदर्शी नहुने शंका गरेका छन् । यस सडक ग्रावेलको लागि केहि समय अघि मात्र नीलकण्ठ नगरपालिकाले रु २० लाख रुपैंया रकमान्तर गरि विनियोजन गरेको थियो ।

अर्जुन बराईलीको अध्यक्षतामा बनेको यस उपभोक्ता समितिले  १८ सय मिटर बाराबरको ग्रावेल गर्नुपर्नेछ । यहि सडक ग्रावेलको लागि गत वर्ष पनि रु. ५ लाख विनियोजन गरिएको र प्राविधिक डिजाइन स्टिमेट अनुसार काम नभएको भनि व्यापक जन गुनासो आएको थियो । यता स्थानीय जनप्रतिनिधि एवं वडा अध्यक्ष भोज बहादुर रेग्मीले भने उपभोक्ता समिति गठनमा केहि कमि कमजोरी भएको स्वीकार्दै, आगामी दिनहरुमा यस्तो हुन नदिने र आफ्नो गाउँको विकासको लागि सबैलाइ सहयोग गर्न अनुरोध गरेका छन् ।

साथै प्राविधिक डिजाइन स्टिमेट अनुसारको काम भए नभएको अनुगमन गरि राम्रो र गुणस्तरीय काम गर्न र गराउन सहयोग गरि आर्थिक अनियमितता हुन नदिन र अनियमितता गरेमा कानुनी कारबाही गरिने बताएका छन् । यसका साथै यसै वडाका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष भक्तबहादु रेग्मीले भने वडा भित्रका सबै विकास निर्माण, उपभोक्ता समिति गठन तथा योजना छनौट तथा तर्जुमामा पनि वडा अध्यक्षले राजनिति गरी एकलौटि रुपमा काम गर्ने गरेको बताएका छन् ।

साथै अबका दिनमा सर्वदलिय, सर्वपक्षिय छलफल र समझदारीको आधारमा समन्वय गरि वडामा हुने कामहरु गर्न सुझाएका छन् । स्थानियले अवरोध गरेपछि प्रहरी प्रशासनको सहयोगमा पुन काम सञ्चालन गरेको स्थानिय एवं वडा सदस्य दिपक वराईलीले जानकारी दिएका छन् ।

Facebook Comments