
नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैँको लागि नयाँ नोट वितरण गर्ने गरेको छ। यस वर्ष कोरोना संक्रमण बढ्दै गएकोले नयाँ नोट साट्न पाइएला कि नपाइएला भन्ने दुविधा सर्वसाधारण रहेका छन्।
यस वर्षको दशैँको लागि कहिलेदेखि र कसरी नयाँ नोट वितरण गर्ने भन्ने निणर्य केन्द्रीय बैंकले गर्न सकेको छैन। पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण बढ्दै गएकाले यस वर्ष केन्द्रीय बैंकले नयाँ नोट वितरण नगर्ने सम्भावना बढेको छ।
“बाँड्ने वा नबाँड्ने र कसरी बाँड्ने भन्ने विषयमा निर्णय भइसकेको छैन,” केन्द्रीय बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवती नेपालले भने “जोखिम बढ्दै गयो भने नबाँड्ने सम्भावना पनि रहन्छ।”
गत वर्षहरुमा केन्द्रीय बैंकले आफ्ना क्षेत्रीय कार्यालय र केहि वाणिज्य बैंकका शाखाहरुबाट समेत नयाँ नोट वितरण गरेकाे थियो। यस वर्ष भने कोरोनाको जोखिमका कारण नयाँ नोट कसरी वितरण गर्ने भन्ने केन्द्रीय बैंकले निर्णय गरेको छैन। कारोना संक्रमण बढ्दै गएमा नयाँ नोट नबाँड्ने पक्षमा केन्द्रीय बैंक रहेको छ। “जोखिम लिन उपयुक्त नहुन सक्छ,” नेपालले भने “सुरक्षित विधि अपनाउन सकिने भयो भने मात्रै केहि बाँड्न सकिन्छ।”
तर, पछिल्लो दिनहरुमा कारोना संक्रमण घट्न सकेको छैन्। उपत्यकामा तीन साता निषेधाज्ञा गर्दा पनि कोरोना संक्रमित दैनिक बढ्दै गइरहेको छ। बिहीबारदेखि निषेधाज्ञा समेत खुकुलो भएकोले जोखिम अझै बढेको छ। आगामी १०-१२ दिनको अवस्था हेरेर नयाँ नोट के गर्ने भन्ने विषयमा निर्णय गर्ने पक्षमा केन्द्रीय बैंक छ। काेराेना संक्रमण कम नभए यस वर्ष नयाँ नाेट साट्न नपाइने पक्का भएकाे छ।
राष्ट्र बैंकले प्रत्येक वर्ष एक जना व्यक्तिलाई ५, १०,२०, ५० र १०० दरका एक–एक बन्डल नयाँ नोट दिँदै आएको छ। तर, कोरोना संक्रमित बढ्दै गएमा यो वर्ष पुरानै नोटले दशैँ मनाउनु पर्ने देखिन्छ।
दशैँमा नयाँ नोट वितरण गर्दा रङ्गले नोटको आयु चाँडै सकिने गरेको छ। राष्ट्र बैंकले नोटमा रातो रङ्ग नदल्न तथा केरमेट नगर्न आग्रह गर्दै आएपनि दशैँमा नोटमा धेरै रङ्ग लाग्ने गरेको छ।
#Merolagani