
नेपालकै पहिलो नौविसे नागढुङ्गा सुरुङ सडक मार्गको निर्माण कार्य सुरु भएको छ । धादिङको सिस्ने खोलादेखि काठमाडौंको थानकोटस्थित टोटी टोलसम्मको सुरुङ मार्ग निर्माण सुरू भएको हो ।
२ दशमलव ६८ किलोमिटर लामो सुरुङ निर्माण जापानको हाज्मा इण्डो कम्पनीले निर्माण गरिरहेको छ । कम्पनीले ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको हो । निर्माण कम्पनीले दैनिक २ सय कामदार खटाएर भए पनि काम अगाडि बढाउने जनाएको छ । झण्डै १५ अर्ब लागतमा निर्माण हुन लागेको सुरुङको यतिखेर सिस्नेखोलामा पानी कटाउन कल्भर्ट निर्माण गरिएको छ । त्यहाँ सुरुङ निर्माण हुने ढोकामा चिन्ह लगाउने काम समेत गरिएको छ ।
सुरुङ निर्माणपछि नागढुङ्गाको उकालोमा हुने सडक जाम हट्नेछ । काठमाडौंको थानकोटतर्फ पनि सुरुङ मार्गको प्रवेशद्वारा तर्फको काम सुरू भएको छ । आयोजनाले दुइटा सुरुङ निर्माण गर्नेछ । एउटामा सवारी साधन सञ्चालन हुनेछ भने अर्को सुरुङ आपतकालीन अवस्थामा प्रयोग हुनेछ । सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि नौविसेबाट १० मिनेटमा थानकोट पुग्न सकिन्छ ।