पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी सिताराम प्रसाद वर्माको असामयिक निधन भएको छ । विगत १८ दिनदेखी उपचाररत पत्रकार वर्माको शुक्रबार किष्ट अस्पताल काठमाडौंमा उपचारकै क्रममा निधन भएको हो ।

वर्मा उच्च रक्तचाप र मधुमेहको रोगबाट पिडित हुनुहुन्थ्यो । १९९९ असोज १९ गते जन्मीनु भएका वर्मा २०५० साल बैशाख १ गतेबाट हालसम्म राष्ट्रिय समाचार समिति (रासस) को धादिङ समाचारदातामा कार्यरत हुनुहुन्थ्यो । राष्ट्रिय समाचार समितिसंगै कान्तिपुर, गोरखापत्र, स्पेश टाइम्स दैनिक, नेपाल टेलिभिजन, घटना र बिचार साप्ताहिकको जिल्ला संवाददाता भएर पनि काम गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति भई ४ पटकसम्म शाखालाई नेतृत्व दिनु भएका वर्मा धादिङमा हिमाल साप्ताहिक पत्रिकाका प्रकाशक (सम्पादक) हुनुहुन्थ्यो । उहाँको शव आज पशुपती आर्यघाटमा अन्त्यष्टी गरिएको रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले जानकारी दिनुभयो ।

उहाँको पार्थिव शरिरमा पूर्वमन्त्री एवं प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे, नेपाली कांग्रेस धादिङका सभापती रमेश धमला, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव राम प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा लगायत जिल्लाका अन्य पत्रकारहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गिय वर्माप्रति धादिङ अपडेट परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

Facebook Comments