धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का महिलाहरु पिडालु खेती तर्फ आकर्षित भएका छन् । परम्परागत रुपमा खेती गर्दै आएका त्यहाँका महिलाहरु व्यवसायिक रुपमै पिडालुखेती तर्फ आकर्षित भएका हुन् ।

एकाध घर परिवारले मात्र पिडालु खेती गर्दै आएको उनिहरु समुहमा आवद्ध भएर खेती गर्न सुरु गरेका छन् । साविकको खरि गाविसको वडा ६ र ९ का जौवारी, आलेगाउँ र ढाँडा गाउँका महिलाहरुले सामूहिक रुपमा पिँडालु खेती तर्फ लागेका हुन् । जनकल्याण महिला समूह, चिसापानी महिला समूह लगायतका समूह गठन गरि पिडालु खेती गरेका हुन् । महिलाहरुले लगभग ९० रोपनी जग्गामा २५ टन स्थानिय खरि जातका पिडालु उत्पादन गरेका छन् । उत्पादित पिडालु गाउँबाटै प्रतिकेजी ३० रुपैयाँमा विक्री गर्दै आएका छन् ।

पिडालु खेती गर्ने कृषक समूहलाई वडाले प्रत्येक वर्ष अनुदान दिंदै आएको छ । खरी पिँडालु प्रबर्धन कार्यक्रम अन्तरगत रोपनीको ३ हजार रुपैयाँका दरले अनुदान दिँदै आएको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण प्रसाद काप्रीले जानकारी दिनुभयो । वडामा बजेट कम हुने भएकाले विभिन्न संघ संस्थासँग समन्वय गरि पिडालु खेतीलाई थप प्रर्वद्धन गर्दै लैजाने अध्यक्ष काप्रीले बताउनुभयो । पौष्टिक तत्वयुक्त पिडालु खेतीलाई विस्तार गर्नको लागि किसानहरुको माग अनुसार काम गर्दै जाने उहाँले बताउनुभयो । किसानले अहिले ड्राई मेसिन अर्थात गाभा सुकाउने मेसिन माग गरेका कारण आगामी वर्षको बजेटमा मेसिन खरिदको लागि बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।
सामान्यतया डल्लो आकारमा पिडालु हुने भएपनि महिलाहरुले उत्पादन गरेको खरि पिडालु लाम्चो आकारको रहेको छ । महिलाहरुले भविश्यमा पिडालुको गाभाबाटे मस्यौरा लगायतका परिकार बनाई विक्री गर्ने योजना रहेको बताएका छन् ।

पिडांलुमा सबैभन्दा बढी चिस्यान, चिल्लो, रेसा, क्यालोरी, फस्फोरस, क्याल्सियम, सोडीयम, प्रोटिन, खनीज पदार्थ, कार्बोहाइड्रेट, आइरन, पोटासीयम, भिटामीन बी, राइबोफ्लाबिन, थायमिन, निकोटिनीक एसिड लगायतका मानव सरिरलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरु पाइन्छन् । पिडालुको महत्व र आवश्यकताको विषयमा उपभोक्तालाई जानकारी गराउन सके खरि पिडालुको खेतीबाट स्थानियको जिवन स्तरमा सुधार आउने सरोकारवालाहरुको भनाई रहेको छ ।

तस्विर : वडा अध्यक्ष कृष्ण प्रसाद काप्रीको फेसबुकबाट