६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वीराजमार्ग । पृथ्वीराजमार्गको काखैमा ओर्वाङ गाउँ । गाउँमा विजुली बत्ति बल्यो तर अहिलेसम्म मिटर रिडर गाउँ नआउँदा हचुवाको भरमा पैसा तिर्ने ओर्वाङबासीले मन उज्यालो बनाउन सकेका छैनन् । मिटरै नहेरी होटलमा बसेर सबै सेवाग्राहीको विलिङ गर्दा सेवाग्राहीहरु चर्काे विद्युत महसुल तिर्न बाध्य भएका हुन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ ओर्वाङकी चमेली चेपाङले घरमा विजुली बत्तिको मिटर जोडेको करिव ३ वर्ष भयो । तर अहिलेसम्म मिटर रिडर एक पटक गाउँ आइ पुगेको छैन । अन्दाजीको भरमा विद्युत महसुल तिर्नुपरेको उहाँले बताउनुभयो । घरमा मिटर नहेरी सलाङघाटको होटलमा बसेर विल काट्छन् । उहले भन्नुभयो– महिना महिनामा घरमा विल आए पो पैसा तिर्न सजिलो हुन्छ । तर मिटर राखेदेखि विल आएको छैन । अस्ति एक पटक विल होटलमा छाडिदिएको रहेछ भनेर गाउँकै छिमेकीले ल्याइदियो । बत्तिको विल हेरेपछि छागाँबाट खसेजस्तै भएको बताउनुभयो । होटलमा बसेर मिटर रिडरले काटेको विलमा ७४४ यूनिट छ । तर घरको मिटरमा १६६४ यूनिट उठेको छ । उहाँले भन्नुभयो– विद्युत प्राधिकरणबाट विलिङ गर्न घरमा नआउने । तिर्न बाँकी रहेको ९२० यूनिटको पैसा कसले तिर्छ ? प्राधिकरणको लापारबाहीले आफुहरु अन्यायमा परको उहाँले बताउनुभयो ।

मिटर रिडरले सेवाग्राहीको मिटरै नहेरी होटलमा बसेर विल काट्छन् । तर सबैको विलमा १० वा २० यूनिट लेखिदिएका छन् । विलमा लेखिएको खपत यूनिट र सेवाग्राहीको घरमा राखिएको मिटरमा उठेको यूनिट आकाश पाताल फरक छ । मिटरै नहेरी विल काट्दा चर्काे विद्युत महसुल तिर्नु परेको सुमन चेपाङको अनुभव छ । विजुली बत्ति जोडेदेखि विल लिएर विद्युत प्राधिकरणको कर्मचारी एक पटक आएका छैनन् । उहाँले भन्नुभयो– होटलमा बसेर गाउँले सबैको विल काट्ने रहेछ ।

अनि घरमा कसरी विल आओस् त । हचुवाको भरमा विद्युत महसुल तिर्दा एकै महिनामा ३ हजार भन्दा बढी रकम तिर्नुपरेको सम्झना ताजै रहेको छ । त्यसैले कोरोना भाइरसका कारण भएको बन्दाबन्दी पछि गाउँमा प्रायः जसोले पैसा नतिरेको बताउनुभयो ।
मिटरै नहेरी होटलमा बसेर अन्दाजको भरमा विल काट्दा सेवाग्राहीहरु मारमा परेका छन् । एकै ठाउँमा बसेर विल काट्दा साविक र हालको अंक एउटै तर खपत यूनिट २० समेत काट्ने गरेका छन् । तर खपट यूनिट भने सबै सेवाग्राहीको १० वा २० यूनिट लेखिदिएका छन् । त्यसैले, कतिपय सेवाग्राहीले मिटरमा उठेको धेरै यूनिटको पैसा तिर्न बाँकी छ ।

कतिपय सेवाग्राहीले मिटरमा उठ्दै नउठेको धेरै यूनिटको रकम तिरिसकेका छन् । ओर्वाङकै बेलबहादुर मगरको घरमा जोडिएको मिटरमा १५९७ यूनिट उठेको छ । तर १९५३ यूनिटको पैसा तिरिसकेको मगरले बताउनुभयो । मिटर हेर्न विद्युत प्राधिकरणको कर्मचारी आउदैनन् । पैसा बुझाउन जादा हामीलाई उल्टै घरको मिटरमा कति उठेको छ । पहिले र अहिलेको यूनिट नल्याइ पैसा लिन्नौं भनेर थर्काउछन् ।

सलाङघाटका होटलमा बसेर विल काट्नेहरु २ मिनेट हिडेर आइपुुग्ने हाम्रो ओर्वाङ गाउँ किन आउदैनन् । प्राधिकरणको अत्याचारले बत्ति बलेपनि मन उज्यालो हुन नसकेको उहाँको भनाई छ ।  सेवाग्राहीले गुनासो गरिरहदा विद्युत प्राधिकरण गजुरी शाखाका प्रमुख भने यस विषयमा आफुलाई जानकारी नभएको बताउँछन् । उहाँले भन्नुभयो– यस विषयमा बुझ्नु पर्छ । मलाई सबै कुरा थाहा हुदैन । गुनासो पनि आइपुगेको छैन । आय शाखामा बुझेर मात्र के हो भन्न मिल्ने बताउनुभयो ।

पुष महिनाबाटै मिटर रिडरसहित सेवाग्राहीको घरमा बिल पुग्छ ः आय इन्चार्च लिम्बु
यहि पौष महिनादेखि हरेक सेवाग्राहीको घरमा मिटर रिडर सहित विद्युत महसुलको विल पुग्ने विद्युत प्राधिकरण गजुरी शाखाका आय इन्चार्च मैताङ लिम्बुले बताउनुभयो ।

मिटर रिडिङ गर्न गएका मिटर रिेडर सेवाग्राहीको घरमा पुगे नपुगेको थाहा भएन । उहाँले भन्नुभयो– सेवाग्राहीले गुनासो गरे थाहा हुने हो । हामीले कर्मचारीलाई खटाएका छौं । उनीहरुले कहाँ बसेर विल काट्छ भन्ने भन्दा पनि मिटर रिडरले ल्याएको डाटा अनुसार सेवाग्राहीले पैसा तिर्नुपर्छ ।

मिटरमा उठ्दै नउठेको रकम तिरेका र मिटरमा उठेका धेरै यूनिटको रकम तिर्न बाँकी रहेका सेवाग्राहीको हकमा के हुन्छ भन्ने प्रश्नमा लिम्बुले सेवाग्राहीले आफ्नो मिटरमा नउठेको रकम तिरेका छन् भने त्यो यूनिटसम्म पैसा तिर्नु पर्दैन । तर तिर्न बाँकी रहेको यूनिटको पैसा सेवाग्राहीले नियम अनुसार आफैले तिनुपर्ने बताउनुभयो ।

पहिले ठेक्कामा काम गराइएको हो । तर यहि असोजबाट हामी आफैले कर्मचारी खटाएका छौं । पुषबाट सेवाग्राहीकै घरको मिटर हेरेर मात्र विलिङ हुने उहाँको भनाई छ ।

Facebook Comments