माघे संक्रान्ती पर्वको अवसरमा आज धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोटमा गोरु जुधाई प्रतियोगीता एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरिएकोे छ । संस्कृति संरक्षण तथा पर्यटन प्रर्वद्र्धन केन्द्र र भंगेरी युवा क्लवले कार्यक्रमको आयोजना गरेको हो ।

विहिबार १८ हल गोरु जुधाईएको छ । समूह क, समूह ख र समूह ग गरि ३ समूहमा गोरुहरुलाई विभाजन गरि गोरु जुधाईएको संस्कृति संरक्षण तथा पर्यटन प्रर्वद्र्धन केन्द्रका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो । समूह ‘क’ मा ४ हल गोरु, समूह ‘ख’ मा ६ हल र समूह ‘ग’ मा ८ हल गोरु रहेका थिए । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुने समूहलाई १२ हजार, १० हजार र ८ हजार नगद तथा प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो भने हार्ने समूहलाई पनि क्रमश १० हजार, ८ हजार र ६ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

विजयी गोरु धनीहरु तथा प्रतियोगीतामा सहभागी अन्य गोरुधनीलाई प्रमुख अतिथि एवं निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले पुरस्कार प्रदान गर्नुभएको थियो । धादिङको धुवाकोट ऐतिहाँसिक महत्वका ९ ओटा कोटमध्ये एउटा महत्वपूर्ण कोट हो । विशेष गरि धँुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्यले गोरु जुधाई प्रतियोगीता आयोजना हुँदै आएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती पनि रहेको थियो ।

यस्तै धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको मुलपानीमा पनि गोरु जुधाईएको छ । माघे संक्रान्ती तथा गोरु जुधाई मेला व्यवस्थापन समितिले प्रतियोगीताको आयोजना गरेको हो । प्रतियोगीतामा गोरखा र धादिङका गरि २४ हल गोरु जुधाईएको मेला व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगीतामा विजयी हुने, उत्कृष्ट जुध्ने तथा सहभागी गोरुलाई क्रमश ४ हजार, २ हजार र १५ सय नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा सहभागी गोरु धनीहरुलाई प्रमुख अतिथि एवं त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

Facebook Comments