
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार उर्जा मन्त्रालयले नियुक्त पत्र दिने तयारी गरेको छ।
उक्त निर्णयको जानकारी मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार साँझ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय पठाएको जनाइएको छ। २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरी विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि साउन १९ गते प्रधानमन्त्री शेरबहादु्र देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको थियो।
पछि सोही दिन मन्त्री भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । सोहीअनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा पूर्णकालीन सदस्य पदमा पदस्थापन गरिने भएको छ।
यसअघि केपी ओली नेतृत्वको सरकारले तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई सोही पदमा दोहोर्याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । र पछि शाक्यलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो अन्नपुर्णपोष्टको अनलाईन संस्करणमा समाचार छ ।