२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न : ‘राज्यको लाखौँ खर्च गरेर भ्रमण गर्नुको उपलब्धि के?’

सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न : ‘राज्यको लाखौँ खर्च गरेर भ्रमण गर्नुको उपलब्धि के?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू चीन भ्रमणमा जाने विषयलाई लक्षित गर्दै सांसद आशिका तामाङले विदेश भ्रमणको औचित्य र पारदर्शितामाथि प्रश्न उठाउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले राज्यको ढुकुटीबाट सांसदहरू कति पटक विदेश भ्रमण गर्न पाउँछन् र त्यस्ता भ्रमणबाट देश तथा जनताले के उपलब्धि हासिल गर्छन् भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक हुनुपर्ने बताउनुभएको छ ।

उहाँले विभिन्न संसदीय समितिमा रहेका सांसदहरू आफ्नै समितिमार्फत विदेश भ्रमणमा जाने गरेको तर भ्रमणबारे सम्बन्धित समितिकै अन्य सदस्य तथा आफ्नै पार्टीका सांसदहरूलाई समेत जानकारी नहुने अवस्था रहेको दाबी गर्नुभएको छ ।

‘विदेश भ्रमण केका लागि गइन्छ ? राज्यको लाखौँ खर्च गरेर गरिएको विदेश भ्रमणबाट जनता र सांसदले पाउने उपलब्धि के हो ?’ भन्दै उहाँले भ्रमणको उद्देश्य, खर्च र उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने धारणा राख्नुभएको छ ।

तामाङले विदेश भ्रमणका क्रममा सांसदहरूले सामाजिक सञ्जालमा समुद्री तटमा खिचिएका तस्बिर तथा टिकटक भिडियो सार्वजनिक गर्ने गरेको उल्लेख गर्दै भ्रमणको उद्देश्यबारे प्रश्न उठाउनुभएको छ ।

राज्यकोषबाट खर्च गरेर गरिने विदेश भ्रमण केवल घुमफिर र सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गर्नका लागि मात्रै नभई त्यसबाट देशले ठोस उपलब्धि हासिल गर्नुपर्ने उहाँको आशय छ ।
सांसद तामाङले विदेश भ्रमणको उद्देश्य, त्यसमा भएको सरकारी खर्च र भ्रमणबाट प्राप्त उपलब्धिबारे जनतासमक्ष पारदर्शी रूपमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता चीन भ्रमणमा जान लागेका छन् ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन जान लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) निमन्त्रणामा रास्वपा प्रतिनिधिमण्डल चीन जान लागेको हो । आइतबार (२९ कात्तिक) देखि हुने भ्रमणको समयावधि ११ दिनको हुने जानकारी गराइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल