२०८३ कार्तिक ३०, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व अस्ति शुक्रबारदेखि शुरु भएको हो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन सखर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ ।
षष्ठी अर्थात आजको दिन रातभर जागा बसी भोलि कात्तिक शुक्ल सप्तमीको बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । केही वर्षअघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
विसं २०४६ देखि सरकारले छठ पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । विगतका केही वर्ष यो बिदा काटिएकामा फेरि बिदा हुन थालेको छ । यसवर्ष सरकारले भोलि पनि सार्वजनिक बिदा दिएको छ ।
छठ पर्वका अवसरमा तराई, मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशय झकिझकाउ बनाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल