धादिङ जिल्ला भलिबल संघको आयोजनामा जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता आगामी पुस ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ ।
जिल्लामा भलिबल खेलको विकास, विस्तार तथा खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा धादिङ जिल्लाभर रहेका १३ वटै गाउँपालिकाका पुरुष भलिबल टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगिताले स्थानीय तहमा भलिबल खेलप्रतिको आकर्षण बढाउनुका साथै पालिकास्तरमा खेलकुदको विकास, खेलाडीबीच आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना र खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामार्फत जिल्लाका उत्कृष्ट खेलाडीहरूको पहिचान र क्षमता प्रदर्शन गर्ने अवसरसमेत प्राप्त हुनेछ।
धादिङ जिल्ला भलिबल संघले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित स्थानीय तह, खेलप्रेमी, खेलाडी, प्रायोजक तथा सरोकारवाला सबैमा सहयोग र सहभागिताका लागि अपिल गरेको छ। १३ वटै पालिकाको सहभागितासहित आयोजना हुने यस प्रतियोगिताले धादिङको भलिबल खेललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।











