कार्तिक ११, धादिङ । नेकपा एमालेको तर्फबाट धादिङको क्षेत्र १ (१) बाट विजयी बनेका प्रदेश साँसद, राजेन्द्र प्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेसँगै आज बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त भएका हुन । पाण्डे नेकपा एमाले विभाजन पछि गठन भएको नयाँ दल एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष तथा एकिकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पनि हुन् ।


शाक्यको राजीनामा पछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको आह्वान अनुसार गठबन्धन दलका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित बुधबार नै मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न निवेदन दिएको थियो । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १ / १ जना समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।
प्रदेश सभामा रहेका १०९ जना सांसद मध्ये पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को १ जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको भद्र सहमति अनुसार बाग्मती प्रदेशमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्नेछ । राजेन्द्र प्रसाद पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री हो । यस अघि डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।