२ चैत्र, धादिङ ।
बुधबारको लागि आह्वान गरिएको संसद बैठक मंगलबार मध्ये रातमा नै अन्य गरिएको सुचना संघीय संसद सचिवालयले जारी गरेको छ । सुचनामा चालू प्रतिनिधिसभा र राष्ट्रियसभाको दुबै अधिवेशन अन्त्य गरिएको उल्लेख छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय र सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो । संघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो । यसअघि चैत २ गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान भएको थियो । गत माघ १६ गते राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित गरिएको थियो ।

सरकारले संघीय संसदमा टेबुल भएको नागरिकता सम्बन्धी विधेक र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको विषयलाइ लिएर संसद अधिवेशन अन्त्य गरिएको हुन सक्ने आंकलन गरिएको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारले हठात्मा संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भन्दै विरोध जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगलाई लम्ब्याउने षड्यन्त्र स्वरुप संसद अधिवेशन अन्त्य गरिएको जनाएको छ । त्यसबारे छलफल गर्न र थप निर्णय लिन एमालेले आज संसदीय दलको बैठक बोलाएको नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानाएको छ ।