
निहाउरो अनुहार, फुल्लिएको शरिर । औषधि र उपचारले थलिएको ज्यान । रोग तथा समस्याको भूमरीमा पैठेजोरी खेल्दै उपचारकै लागि केहि वर्षदेखि काठमाडांैको बसाँई । केवल पिर, पिडा अनि ऋणको भारीले उठ्नै नसक्नेगरी थिचिएका गंगाजमुना गाउँपालिका २ धादिङका गाङशेर तामाङ भन्नुहुन्छ– ‘फेल भएको मृगौला बचाउन काठमाडौं आएको म, अब त आफै जिउँदो फर्किन्न जस्तो लाग्छ ।’
दुवै मृगौला फेल भएको छ । सास छ बाँच्ने आश र रहर छ, र पनि अरुकै व्लडको भरमा बाँचिरहेको छु । ४५ वर्षिय गाङशेर भन्नुहुन्छ– ‘सातामा दुइ पटक डायलाइसिस गर्छु । सातामा चार पाउण्ड व्लड चाहिन्छ । व्लड विना डायलाइसिस गर्न मिल्दैन । कोरोना पोजेटिभ भएको समयमा त ५० हजार दिन्छु भन्दा पनि कसैले मानेन् । मर्ने काल आएन, बाँच्ने ताल आएन । घरको न घाटको भएको छु’, उहाँले गहँभरि आँसु पार्दै भन्नुभयोे ।
श्रीमान विरामी भएर ढलेदेखि ५० लाख भन्दा बढी खर्च भैसकेको गाङशेरका श्रीमती बुद्धिमाया तामाङ बताउनुहुन्छ । विगत साँढे दुइ वर्षदेखि श्रीमानको उपचार भैरहेको छ । उहाँ भन्नुहुन्छ– ‘श्रीमानको उपचार खर्च मात्रै एक महिनामै डेढ लाखसम्म तिरेको छु । आउन, जान, खान, बस्न कति हो कति, हिसाबै छैन । ज्यान भन्दा सम्पत्ति ठूलो होइन । तर के गर्नु भएको सम्पत्ति सकियो । अहिले पनि व्लड, औषधि, डायलाइसिस गर्दा मासिक ५० हजार खर्च हुन्छ । सडकको पेटीमा तरकारी बेचेर श्रीमानको ज्यानको भिख मागिरहेछु ।’ सुक्क सुक्क गर्दै उहाँले सुनाउनुभयो ।
एक वर्षसम्म त औषधि मात्रै खुवाएको वुद्धिमायाले बताउनभयो । तर दुवै मृगौला फेल भएको रिपोर्ट पाउन उनीहरुलाई एक वर्ष लाग्यो । ‘श्रीमानकै उपचार गर्न धादिङ छाडेको पनि तिन वर्ष हुन लागिसक्यो । धादिङमा अहिले पनि मृगौलाको डायलाइसिस हुदैन । श्रीमानलाई एक थोपा पानी पर्न हुदैन । औषधि पनि खानासँग खुवाउँछु । कम्ता पिर छैन मलाई । ऋण लागोस् तर दिन नलागोस् भनेर चित्त बुझाएको छु,’ उहाँले सुनाउनुभयो ।
ज्वालामूखी गाउँपालिका धादिङकी चमेली वाडाँ पनि दुवै मृगौला फेल भएर काठमाडौंमा उपचारत हुनुहुन्छ । विरामी भएर उपचारको क्रममा सात लाख भन्दा बढी रकम खर्च भैसकेको उहाँले बताउनुभयो । विगत ४÷५ महिनादेखि डाइलाइसिस गराइरहेको छु, ‘थाइराइडको समस्याले औषधि खाइरहेको थिएँ । एक्कासी शरिर सुन्निने र भोमिट हुन थाल्यो । उपचारका लागि छोराहरुले बिएनबि, ग्रीन सिटी, सुमेरु, टिचिङ लगायत थुपै्र अस्पताल पु¥याए । तर लाखौं रकम खर्च भैसकेपछि मात्रै मेरो दुवै मृगौला फेल भएको रिपोर्ट पाएँ । छाँगाबाट खसेजस्तै भएँ ।’ लामो सास फेर्दै उहाँले सुनाउनुभयो ।
सातामै दुइ पटक डाइलाइसिस गर्नु पर्छ, ‘रोगले मात्र होइन, उपचारमा भएको खर्चका कारण ऋणमा पनि चुर्लुम्मै डुवेको छु । मृगौला फेर्न सक्ने अवस्था छैन । उपचार गरेर निको हुने पनि होइन । धादिङमै मृगौलाको डाइलाइसिस सेवा मात्रै भएको भए, घर नजिक आफन्त सबै संगै हुने थिएँ । यहाँ त खर्च मात्रै हो । थाल खाउँकि भात खाउँ भएको छु,’ गहभरि भरिएको आँसु पुछ्दै उहाँले भन्नुभयो ।
आमाको उपचारमा करिव सात लाख भन्दा बढी उपचार खर्च भैसककोे चमेलीका छोरा राज शाक्य बताउनुहुन्छ । जिल्लामा मृगौलाको उपचार हुदैन । डायलाइसिस सेवा समेत जिल्लाका अस्पतालहरुमा छैनन् । टाढाको बाटो ५० वर्षको बुढी विरामी आमा बोकेर नि कति हिड्नु । शाक्य भन्नुहुन्छ– ‘आमाको उपचारका लागि काठमाडौंमा नै डेरा खोजेर राखेको छु । मेरी श्रीमती र दाजु आमाको कुरुवामा बस्नुहुन्छ । सातामा दुइ पटक सोमबार र विहिबार डाइलाइसिस गर्नुपर्छ । मृगौला उपचार केन्द्र बनस्थलीमा आमाको डाइलाइसिस गराइरहेको छु । एक पटकमा करिव दुइ हजार भन्दा बढी खर्च हुदा डायलाइसिसमै महिनामा करिव १० हजार जति खर्च हुन्छ । सुमेरु अस्पतालमा एक पटक डाइलाइसिस गरेको ७ हजारसम्म तिरेको छु । पहिलेको तुलनामा त कम हो ।’ तर जिल्लामै यो सुविधा भैदिएको भएँ मृगौलाका विरामीलाई अझै सहज हुन्थ्यो, उहाँले भन्नुभयोे ।
नेत्रावती डवजोङ गाउँपालिका ४ धादिङका शिव सापकोटा विगत ५ वर्षदेखि मृगौलाका रोगी हुन् । २०७२ सालमा साउदी पुगेका सापकोटा दुवै मृगौला फेल भएर नेपाल फर्किए । तर अहिलेसम्म सरकारी तवरबाट कुनै पनि सेवा नपाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयोे– ‘काठमाडौमा रहेको ग्रीन सिटी अस्पतालमा सातामा तिन पटक डायलाइसिस गर्छु । महिनाको कम्तिमा १० हजार खर्च हुन्छ । देश विदेशमा अहिलेसम्म कमाएको र ऋणपान गरी ३० लाख भन्दा बढी पैसा खर्च भैसक्यो । मृगौला विरामी त पल पल मरेर बाँचिरहेका छन् । तर सरकारको आँखा पुगेकै छैन,’ उहाँले भन्नुभयोे ।
सापकोटा सवारी चालक हुनुहुन्छ । ड्राइभर र सहचालकको सहयोगले अहिलेसम्म ज्यान बचेको उहाँले बताउनुभयो । प्रतिदिन सय डेढ सयका दरले साथीहरुले छुट्याएर राख्छन् । उहाँले भन्नुभयो– ‘साथीहरुसँग भिख मागेको पैसाले बाँचेको छु । नभए म पहिले नै मरिसक्थेँ । काठमाडौमा बसेर उपचार गर्दा कति खर्च हुन्छ हिसावै छैन । तर अब मेरी आमा चित्रकुमारी सापकोटाले मलाई किड्नी प्रत्यारोपण गर्दै हुनुहुन्छ ।
त्यसकै लागि थप पैसा संकलन गरिरहेको छु । कसैले सहयोग गरिदिए मेरो ज्यान बच्ने थियो । सहयोग गरिदिनुहोस् न है,’ उहाँले सबैलाई आग्रह गर्नुभयो । धादिङमा पनि दिनानुदिन मृगौला विरामीको संख्या बढी रहेको छ । तर धादिङमा मृगौला उपचार सेवा छैन । धादिङ अस्पताल र स्वास्थ्य कार्यालयसँग मृगौला रोगीको यकिन तथ्याङ्क पनि छैन । तर मृगौला विरामीको आवश्यकतालाई मध्यनजर गरी निकट भविष्यमा धादिङमै मृगौलाको डायलाइसिस सेवा विस्तार गर्ने प्रयास भैरहेको धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो ।
सरकारले मृगौलाको डाइलाइसिस गर्नुपर्ने विरामीहरुको लागि महिनाको ५ हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । विरामीले स्थानिय सरकारबाटै उपचार खर्च पाउने व्यवस्था गरेको छ । स्थानिय सरकारले विरामीको खातामा ३/३ महिनामा रकम जम्मा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











