१० बैशाख, २०७९
धादिङ – निर्वाचन कार्यालयले तोकेको समयानुसार निर्वाचन हुन अब २० दिन बाँकि छ, भने उम्मेदावारी मनोनयन गर्ने मिति बैशाख ११ र १२ गतेको लागि तय गरिएको छ । धादिङ जिल्लाको विशेष गरि तीनदलीय गठबन्धनमा भागबण्डाको विषयलाइ लिएर स्थानिय नेता कार्यकर्तामा व्यापक असन्तिुष्टि देखिन थालेको छ । जिल्लाका असन्तुष्ट नेता कार्यकर्ताहरुले नेताहरुलाइ मानसिक दवाव दिन जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् । आज रुवीभ्याली गाउँपालिकाका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले गठबन्धनको नाममा पार्टी नेतृत्वले गरेको निर्णय गलत भएको र निर्णयमा पुर्नविचार गरि निर्णय सच्याउन माग गर्दै पार्टी कार्यालयमा तालाबन्दि गरेका हुन् । त्यसै गरि रुवीभ्याली गाउँपालिकाकै नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुले पनि गठबन्धनको नाममा पार्टी नेतृत्वले गरेको निर्णय गलत भएको भन्दै सदरमुकाम स्थित पुच्छारबजारमा रहेको पार्टी कार्यालयमा तालाबन्दि गरेका छन् ।
आधिकारिक रुपमा सार्वजनिक नभएपनि गठबन्धन दलहरुको भद्र सहमति अनुसार जिल्लाको १३ वटा स्थानीय तहहरुमा ७ वटा नेपाली काँग्रेसलाइ, ३ वटा नेकपा माओवादी केन्द्र र २ वटा नेकपा एकिकृत समाजवादीलाइ दिने सहमती भएको छ । जस मध्ये नेत्रावती डबजोङ गाउँपलिकामा भने नेपाली कांग्रेस र नेकपा माओवदी केन्द्र दुवै दलको दावि रहेका कारण अन्तिम सहमती हुन नसकेको भन्ने समाचारहरु आएको छ । जिल्लाको सत्ता गठबन्धन दल बाहेक अन्य दलहरुले पनि अझैसम्म उम्मेदवारीको नाम टुङ्याउन सकेको छनै । सबै दलहरु अहिले आन्तरीक छलफलमा रहेका छन् । आज साँझसम्ममा सबैले उम्मेदवारको अन्तिम टुङगो लगाउने गरि तयारी गरिरहेका छन् ।