नेकपा एमाले धादिङका कार्यकर्ताहरुमाथी भएको सांघातिक आक्रमणमा संलग्नहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेको छ । आज एक विज्ञप्ती मार्फत सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा विपक्षीबाट एमाले कार्यकर्ता माथी भएको आक्रमण प्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै कारवाहीको माग गरेको होे ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ डाडाँगाउँमा एमालेको घरदैलो र्यालीमा २७ गते साँझ आक्रमण भएको थियो । आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय हरी श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का राष्ट्रिय युवा संघ त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष एवं निर्माण व्यवसायी शिशिर दनै लगायत १० जना कार्यकर्ताहरु घाईते भएको विज्ञप्ती मार्फत जनाएको छ । घटनाका घाइतेहरुको काठमाण्डौ स्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सिद्धलेक गाउँपालिका वडा नं ५ पोखरी सिरानधारमा पनि एमाले कार्यकर्तामाथी खुकुरी प्रहार भएको छ । उक्त घटनामा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटि सदस्य राजेश श्रेष्ठ र शिव श्रेष्ठ घाइते भएका हुन् । घटनामा नेकपा माओवादीको कार्यकर्ताहरु संलग्न रहेको एमालेको आरोप छ ।

शान्ती सुरक्षामा खलल पु¥याई नागरिकलाई भयमा राखी निर्वाचन विथोल्ने उद्देश्यले गरिएका यस्ता हर्कत तुरुन्त बन्द गर्न नेकपा एमाले धादिङ चेतावनी दिन चाहन्छ, विज्ञप्ती अध्यक्ष भुमी त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । एमालेको विजय सुनिश्चित भइसकेका कारण परमादेशी गठबन्धन पक्षधरहरु अत्तालिन पुगेर एमालेका कार्यकर्ताहरुमाथी आक्रमणमा उत्रन थालेको विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ती

Facebook Comments