धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा झडप हुदा २० जना भन्दा बढी घाइते भएका छ्न् । झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउको, दाहिने आँखा, दात लगायत शरिरको विभिन्न ठाउँमा चोट लागेको छ ।
घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । झडपमा परी घाइते हुनेहरुमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरी मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा लागेको एक स्थानीयले बताए । चुनावी प्रचारमा लागेका दुइ पार्टी जंकाभेट हुदा झडप भएको उनको भनाइ छ । मौन अवधिमा भोट माग्न पाइदैन । तर वडा अध्यक्ष सहित गाउँमा भोट माग्न आएका दुइ राजनितिक दलविच झडप भएको उनले बताए ।
नेपाली कांग्रेस भने आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जादा उनीहरुले पुनः आक्रमण गरेको बताएका छन् । झडपमा परी घाइते बनेका कविराज श्रेष्ठले भने हामी त हाम्रो साथीहरुलाई चुटे भन्ने सुनेर लिन गएका थियौं । तर बाटो मै उल्टो हामीले पनि चुटाइ खायौं । एक्कासी लाठी तथा ढुङ्गा मुढा भयो । गाडीबाट झर्नै नपाइ हामी सबै घाइते बन्यौं उहाँल भन्नुभयो ।
झडप भैसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोषार्पण गरिरहेका छन् । नेपाली कांग्रेसले माओवादी कार्यकर्तालाई आक्रमण गरेको कारण झगडा शुरु भएको माओवादीका एक कार्यकताले बताए । कांग्रेसले झगडा र झडप शुरु गरेको उनको भनाई छ ।
धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी विच तालमेल गरिएको छ । नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई भाग परेको हो । तर दलहरुले नीलकण्ठ नगरपालिकामा वडा नम्बर ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन् ।











