५ जेठ, २०७९
धादिङ – बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संस्था, धादिङ बचत तथा ऋण सहकारी संघले यहि जेठ १५ गते सदरमुकाम धादिङबेसीमा पहिलो जिल्ला स्तरिय सहकारी सम्मेलन गर्ने भएको छ । देश विकासको लागि सहकारीको यात्रा आर्थिक, सामाजिक विकास र गुणात्मक सुधारमा केन्द्रित हुनुपर्ने भन्दै सम्मेलन गर्न लागेको हो ।
प्रथम सहकारी सम्मेलनमा धादिङ जिल्लाका सबै सहकारीकर्मीहरु एकै ठाउँमा भेला भएर सहकारी आन्दोलन, नेपालमा सहकारीको वर्तमान अवस्था र भावि कार्यदिशा, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारीका अन्तराष्ट्रिय अभ्यास र नेपालमा त्यसको सम्भावना, सहकारी सम्बन्धी ऐन, कानुन र त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु जस्ता महत्वपूर्ण विषयहरुमा छलफल तथा अन्र्तकृया हुनेछ । साथै सम्मेलनमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौडेल, नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठक लगाएतका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
जिल्लामा रहेका विभिन्न सहकारी संघ / संस्थाका संचालक तथा व्यवस्थापनमा रहेर काम गरिरहेका सहकारी कर्मीहरुको प्रतिनीधिमुलक सहभागीता गराईने धादिङ बचत तथा ऋण सहकारी संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडीले जानकारी दिनुभयो । सम्मेलनमा दुईसय भन्दा बढी सहकारीका प्रमुख तथा प्रतिनीधिहरु सहभागी हुनेछन् । ६ वटा विषयगत सहकारी संघहरु, कार्य प्रकृतिका आधारमा १६ वटा सहकारी संस्थाहरु रहेको धादिङ जिल्लामा ४ सय भन्दा बढिको संख्यामा सहकारी संस्थाहरु रहेका छन् ।
