
कार्तिक २९
धादिङ – यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि धादिङ जिल्ला भर कुल २ हजार ४ सय २२ जना कर्मचारी परिचालन हुने भएको छ । २ प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा रहेको धादिङमा जिल्लाभर ३०३ जना मतदान अधिकृत, ३०३ जना सहायक मतदान अधिकृत तोकिएकोे जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
साथै १५ सय १३ जना सहायक कर्मचारी र ३०३ जना कार्यालय सहायक खटाईएको छ । प्रत्येक मतदान केन्द्रमा स्वयंसेवकहरु पनि परिचालन गरिनेछ । धादिङमा ११४ मतदान स्थल र ३०३ वटा मतदान केन्द्र रहेको छ । यता जिल्ला निर्वाचन सुरक्षा समितिले १०४ वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ ।
धादिङ जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी कुल २ लाख ६५ हजार ९९६ मतदाता रहेका छन् । धादिङमा राजनीतिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् ।
यसैगरी निर्वाचन आयोगले धादिङ जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्र तोकेको छ । अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको मतदान गर्न सकिने छ ।