
सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिएको छ। निर्वाचन सुरक्षार्थ खटिएको सुरक्षाकर्मीले जिम्मेवारी वहन नगरेर कुनै अप्रिय घटना घटेमा त्यस्तो प्रहरी अधिकारीमाथि पनि सजाय हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनुभयो।
यस्तै मतपेटिका लुटेको देख्दादेख्दै गोली नचलाउने प्रहरीलाई पनि कारबाही हुने उहाँको भनाई छ। मतदान केन्द्र तथा हरेक बुथको सुरक्षामा हतियारसहित प्रहरी तैनाथ हुने र शंकास्पद गतिविधि गर्ने, बुथ कब्जा गर्ने खोज्ने, मतपेटिका लुट्ने तथा च्यात्ने व्यक्तिलाई प्रहरीले सिधै गोली चलाउन पाउने अधिकार प्रत्यायोजन भइसकेको बताउनुभयो
७ वटै प्रदेश सबै जिल्लाका सुरक्षा प्रमुखलाई फोन गरी मतदान केन्द्र र मतपेटिकाको उच्चतम सुरक्षा गर्न निर्देशन दिएको नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहले बताउनुभयो। नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार निर्वाचनका लागि बनाइएको एकीकृत सुरक्षा योजनामा लिखित रूपमै यो अधिकार प्रदान गरिएको छ। ‘मतदान स्थलमा मतपेटिका लुट्ने, अवान्छित क्रियाकलाप गर्ने तथा बुथमा आक्रमण गर्नेविरुद्ध स्थानीय प्रशासन ऐनअन्तर्गत अत्यधिक बल प्रयोग गर्ने तथा गोली हान्न सक्ने अधिकार छ,राईको भनाई छ ।
प्रहरी प्रवक्ताका अनुसार मतदान केन्द्रको हरेक बुथमा हतियारधारी प्रहरी परिचालन हुनेछन्। मतपेटिकाको जिम्मा सम्बन्धित पक्षले नलिँदासम्म एक सेकेन्ड पनि उक्त प्रहरीले बुथ छाड्न पाउँदैन। उसले बुथमा आक्रमण गर्ने जोकोहीलाई सिधै गाली हान्न सक्छ। मतदान केन्द्रमा खटिएको सुरक्षा नेतृत्वलाई अनुमति लिइराख्नु पर्दैन। आवश्यक परेको खण्डमा उसले स्वविवेक प्रयोग गर्न सक्छ।
गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा देशभर करिब ४ लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएका छन्। जसमा ७४ हजार ८४९ जना नेपाली सेना, ७१ हजार ६९३ जना प्रहरी, ३५ हजार सशस्त्र प्रहरी, २ हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा १ लाख १५ हजार म्यादी प्रहरी खटिएका छन्।